कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी धेरै

मंसिर १९, २०७८

मंसिर २४ गतेदेखि काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा धेरै नेताले महामन्त्रीको आकांक्षा राखेका छन् । आशालाग्दा युवादेखि लामो समय पार्टीमा त्याग गरेका नेताले महामन्त्री पद रोजेका छन् । तर दुई जना महामन्त्री निर्वाचित हुने भएकाले आकांक्षी नेताहरुको व्यवस्थापन जटिल देखिन्छ ।

नेपाली कांग्रेसको महाधिवेसन नजिकिँदै गर्दा महामन्त्रीका आकांक्षी पनि धेरै देखिएका छन् । दुई जना महामन्त्री निर्वाचित हुने भए पनि आकांक्षीको संख्या धेरै छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा र प्रदिप पौडेलले त महामन्त्रीमा उम्मेदवारी नै घोषणा गरिसकेका छन् । त्यस्तै बालकृष्ण खाँड, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादु कार्की, मिनेन्द्र रिजाल, रमेश लेखक, एनपी साउथ पनि महामन्त्रीकै आकांक्षी हुन् । तर उनीहरुले अझै उम्मेदवारी घोषणा गरेका छैनन् । 

संस्थापन वा रामचन्द्र पौडेल समूहको प्यानलमा अट्ने चाहानाका कारण उनीहरुले उम्मेदवारी घोषणा गर्न नसकेका हुन् । कुनै एउटा प्यानलको उम्मेदवार नबने जित्ने सम्भावना कम हुन्छ । त्यही भएर आकांक्षीहरुले शीर्ष नेताहरुकै मुख ताकेर बसेका हुन् । 

महामन्त्रीमा आशालाग्दा युवा नेतादेखि लामो समय पार्टीमा योगदान पुर्याएका नेताहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ । सभापतिमा जस्तै महामन्त्रीमा पनि आकांक्षी धेरै हुँदा संस्थापन र पौडेल समूहलाई मिलाउन हम्मे हम्मे परेको छ । 

कांग्रेसमा सभापतिपछिको सबैभन्दा आकर्षक पद हो– महामन्त्री । पार्टीको नीति निर्माणदेखि हरेक ठाउँमा महामन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ । यही भएर आसन्न महाधिवेसनमा धेरै नेताले महामन्त्रीको आकांक्षा राखेका छन् ।