अन्नसँगै बगे आँसु

कार्तिक ९, २०७८

पश्चिम तराईको खेतमा बाढीको पानी सुक्दै गएको छ । तर किसानका आँखाबाट बगेको आँशु रोकिएको छैन । यसको मुख्य कारण हो- छाक कसरी टार्ने भन्ने चिन्ता । राहत तथा क्षतिपूर्तिको माग गर्ने ठाउँसमेत थाहा नपाएका गरिब किसान छाप्रा र खेतमा लगलग काप्दै गरेका भेटिन्छन् । बेमौसमी वर्षाले भित्र्याउन आँटेको धान सखाप भएपछि विपन्न वर्गका किसान वर्षभरि के खाने भन्ने पिरलोमा छन् । पश्चिम तराईका यस्तै किसानको व्यथा समेटेर जे पाण्डे र सबिता जीसीले तयार पारेको यो रिपोर्ट: यही छाप्रामा बस्दै आएका ८० वर्षीय विपन्न वर्गका किसान बदलु खटिक वर्षभरि खाने धानबाली डुबानमा परेर नासिएपछि मानसिक चिन्ताले बिरामी भएका छन् । उनलाई छाप्राभित्र बस्न मन लाग्दैन । बहिर निस्केर विनाश हेर्न पनि सक्दैनन् । लौरो टेकेर भित्रबाहिर गरिरहन्छन् । खाना, पानी र राहत तत्काल पाए हुन्थ्यो भन्ने बदलुको माग छ । आफ्ना वृद्ध बाबुको अवस्थासागै बेमौसमी वर्षा र बाढीले पुर्‍याएको क्षतिको पीडाको बोझले बाबुराम खटिक पनि व्याकुल छन् । राहत नपाए ज्याला मजदुरीबाहेक पेट पाल्न आफूसँग अर्को विकल्प नरहेको उनी बताउँछन् । यस्तै अवस्थमा छन् धानबाली सखाप भएका अन्य किसान पनि । तरर... पानी चुहिने भिजेका धानका मुठा उठाएर आलीमा सुकाउँदै, ओल्टाउँदै पल्टाउँदै गरेका यी करन पनि राहत तथा क्षतिपूर्तिको पर्खाइमा छन् । काटेर राखेको होस् वा काट्न बाँकी सबै धान खेतमा डुबेर कुहिन थालेपछि किसानले सुकाउने र राख्ने सजिलो ठाउँसमेत पाएका छैनन् । मोटर गुड्ने ठूला, साना, पक्की र कच्ची सडक अहिले किसानको खलेगरो झैं भएका छन् । जमरा झैं उम्रेको यस्तो धान र चामल बजारमा बिक्री पनि नहुने र भात पनि खान नसकिने उनीहरु बताउँछन् । तैपनि वर्षभरि दुःख गरेर उब्जाएको बाली त्यत्तिकै छाड्न नसक्ने भन्दै उनीहरु स्याहार्न लागिपरेका हुन् ।