एमालेमा असन्तुष्ट पक्षको स्वर दबाउँदै ओली

कार्तिक ८, २०७८

प्रमुख प्रतिपक्ष नेकपा एमाले १०औँ महाधिवेशनको वडास्तरीय नतिजामा अध्यक्ष केपी शर्मा ओली पक्षको एकलौटी देखिएको छ । नेकपा भंग र पार्टी विभाजनपछि चुलिएको असन्तुष्टिलाई सम्बोधन नगरी महाधिवेशनमा होमिएको एमालेमा अब असन्तुष्ट पक्षले सशक्त उपस्थिति जनाउन कठिन छ । तैपनि वडा अधिवेशनदेखि नै पार्टी कब्जा गरेको भन्दै उठेका असन्तुष्टिका स्वरले भने एमालेको महाधिवेशन विवादरहित बन्ने देखिन्न ।

नेकपा एमालेले शनिबार मुलुकभरका ६ हजारभन्दा बढी वडामा सर्वसम्मत नेतृत्व चयन गर्यो । अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा भएको वडा अधिवेशन देख्दा लोकतान्त्रिक तर उनकै पक्षको एकलौटी जस्तै भएको छ। पार्टी एकताका लागि गरिएको दश बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै आएको उपाध्यक्ष भीम रावल,अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुसालसहितको समूहको दरिलो  उपस्थिति कतै देखिएन् । यसले अब एमालेमा अध्यक्ष ओलीले जे चाहन्छन, त्यो मात्रै हुने र उनकै समूहको हालीमुहाली हुने संकेत देखिएको छ । 

अध्यक्ष ओलीको ध्यान अहिले एमाले विभाजनको असर कतै छैन, मेरै कारणले सबै ठिक छ भन्ने देखाउनमा केन्द्रित छ । १० बुँदे सहमतिलाई पनि उनले आफू अनुकुल व्याख्या गरेर पार्टीमा स्वीकार्य बनाइसकेका छन् । आन्तरिक विवादमा अन्तिम अवस्थामा पार्टीमा फर्किएका १० जना नेता पनि लाखापाखा छन् । कतिपयले अध्यक्ष ओलीको कार्यशैलीको चर्को आलोचना र विरोध गरे पनि त्यो पारलाग्ने स्थितिमा देखिन्न् । 

हुन त ओलीले २०७० सालमा आफू पार्टी नेतृत्वमा आएदेखि नै अर्को खेमालाई पुरै किनारा लगाउन थालेका थिए । २०७५ जेठमा माओवादी केन्द्रसँग एकता भएपछि भने पछिल्लो कालखण्डमा उनी चेपुवामा परेका थिए । तर जब नेकपा अवैध भयो, एमालेमा ओलीको एकलौटी चुलियो । त्यही कारण अहिले पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वमहासचिव माधवकुमार नेपालले नयाँ दल खोलिसकेका छन् । अहिले अध्यक्ष ओली यति शक्तिशाली बनेका छन् कि उनीमाथी औला उठाउनेहरु एमालेमा टिक्न समेत नसक्ने अवस्था छ । दशौं महाधिवेशनले त्यसैलाई संस्थागत गर्ने निश्चित जस्तै छ ।