राष्ट्रिय फुटसल लिगमा म्याटको प्रयोग खेलाडीका लागी नौलो अनुभव

आश्विन ८, २०७८

कृत्रिम  मैदानमा प्रशिक्षण गर्दै आएका खेलाडीका लागि पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगमा प्रयोग भएको म्याटको अनुभव  फरक रह्यो । फुटसलको वास्तविक नियमबारे खेलाडीहरु जानकार नहुँदा एकातिर अनावश्यक झन्झट बेहोर्नुपरेको छ भने अर्को तिर म्याट समेत नौलो भएकाले बल कन्ट्रोल गर्नै सकिरहेका छैनन् । 

अन्तराष्ट्रिय नियम अनुसार ४२ / २५ मिटरको आधिकारिक म्याट फिल्डमा ए डिभिजन राष्ट्रिय फुटसल लिग  खेल्दा सबै टिमका खेलाडीका लागि नौलो अनुभव भयो । सबै जसो टिमले दुई दुई खेल खेलिसकेका छन् । तर कृत्रिम घाँसे मैदानमा खेल्दै आएका  खेलाडीलाई म्याट फिल्ड खेल्न सहज भइरहेको छैन । म्याट नौलो भएकाले बल कन्ट्रोल नहुने, अड्किने, खुट्टा चिप्लिने गरेको खेलाडीहरुको अनुभव छ । राष्ट्रिय टोलीमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका पोखराको स्पोर्टस क्यासल, काठमाडौका शंखमूल र ढुकु क्लब जस्ता टिमलाई समेत नयाँ म्याट फिल्डमा खेल्न कठिन भइरहेको छ।  टिमका प्रशिक्षकले नयाँ म्याटका कारण आफ्ना खेलाडीले शतप्रतिशत प्रदर्शन गर्न नसकेको स्वीकार गर्छन् । सहभागी टिमले लिग शुरु हुन अगावै यहि म्याटमा दुई दिन प्रशिक्षणको मौका समेत पाएका थिए । तर त्यो प्रार्यप्त नभएको खेलाडी बताउँछन् । असोज २२ गतेसम्म चल्ने लिग खेलाडीका लागि मात्रै हैन आयोजकका लागि पनि पहिलो पटक अन्तराष्ट्रिय नियमअनुसार आयोजना गरिएकाले नयाँ अनुभव भएको छ ।