एकीकृत समाजवादीको जिम्मेवारी बाँडफाँट सूरुमै विवादित

आश्विन ७, २०७८

महासचिवका रुपमा १५ बर्षसम्म नेतृत्व गरेर नेकपा एमालेको उतार चढावमा झण्डै पाँच दशक राजनीति गरेका माधवकुमार नेपालले त्यही पार्टी फुटाएर बनाएको नयाँ दलको नेतृत्व भारी पर्न थालेको छ ।

६८ बर्ष पार गरिसकेका नेपालले विधि र पद्दतीको कुरा गर्दै अध्यक्ष केपी शर्मा ओलीसँगको टकरावले  एमाले त छाडे । तर नेपालको पार्टी नेकपा एकीकृत समाजवादीको जिम्मेवारी बाँडफाँट सूरुमै विवादित बनेको छ । 

एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीले दल दर्ताको एक महिनापछि जम्बो पदाधिकारी घोषणा गरेको छ । ३ सय एक सदस्यीय केन्द्रीय कमिटीबाट १८ जना पदाधिकारी बनाउँदा सात जना त उपाध्यक्ष नै छन् । एमालेमा छँदा नै विधि, विधान र पार्टी चुस्त हुनुपर्छ भन्ने गरेका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टी संरचना भने भद्दा बनाए । आफूले रोजेको पद नपाएपछि असन्तुष्टी सतहमै देखियो । 

अध्यक्ष नेपालले नयाँ दल एमालेभन्दा भिन्नै हुने र त्यो आफूहरुले व्यवहारमै देखाउने भनिरहेका छन् । तर सानो दलमा पद लिनदिन देखिएको ठूलो चासोले एकीकृत समाजवादीमा असन्तुष्टी बढ्दै जाने संकेत देखाएको छ। 

जिम्मेवारीबारे नेताहरुले असन्तुष्टी  जनाएपछि अध्यक्ष नेपालको डर कतै फेरि गुटवन्दी शुरु हुने हो कि भन्नेमा देखिन्छ । त्यसैले उनले कुनै गुट उपगुटमा नलाग्न र पार्टीको काममा मात्रै लाग्न निर्देशन दिएका छन् । 

नयाँ दलले जनताको बहुदलीय जनवादका विशेषताबाट पार्टीको मार्गनिर्देशक सिद्दान्त जनताको बहुलीय समाजवाद बनाएको छ । यसले आगामी दिनमा सिद्दान्तमै विवाद बढ्ने जोखिम पनि छ ।

२०५० सालपछि निरन्तर एमालेको नेतृत्व गरेका अध्यक्ष नेपाल तत्कालिन महासचिव मदन भण्डारी र अध्यक्ष मनमोहन अधिकारीको उत्तराधिकारीका रुपमा उदाएका थिए । तर  २०६४ मा पहिलो संविधानसभामा आफ्नो हार र पार्टी तेस्रो भएको जिम्मेवारी लिँदै महासचिव छाडेका थिए । त्यहीबाट शुरुको नेतृत्वमा विस्थापनको श्रृखलाले नेपाललाई अहिले पार्टी छाड्ने स्थितिमा पुर्याएको हो । २०५४ मा एमाले विभाजन हुँदा पार्टी जोगाउन खटेका र कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेस कमजोर भएको नेता नेपालले देखे, भोगेका छन् । त्यसैले पनि अहिले आफू र एकीकृत समाजवादीलाई मुलधारमा उभ्याउन भने अध्यक्ष नेपाललाई निकै चुनौती हुने देखिन्छ ।