बसन्तपुरमा इन्द्रजात्राको उल्लास

आश्विन ३, २०७८

कोरोना महामारीले दुई वर्ष घरभित्रै थन्किएका उपत्यकाबासीले यसपाली मन खोलेर इन्द्रजात्रा मनाएका छन् । सयौं मानिसको उपस्थितिमा काठमाडौंको परम्परागत सांस्कृतिक पर्व इन्द्रजात्राको रौनक निकै चुलियो । 

धार्मिक विधिपूर्वक पुजाआजा गरि देवगृहबाट ल्याइएको गणेश, भैरव र जीवित देवी कुमारीलाई रथमा राखेपछि रथयात्रा शुरु भएको हो । तीनवटै रथलाई बसन्तपुरबाट तानेर मरु, चिकमुगल, मजिपात, जैशीदेवल ज्याबहाल लगन बह्मटोल ह्युमत लगायत स्थानमा परिक्रममा गरि बसन्तपुरनै ल्याउने चलन छ । जात्राको अवलोकनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सरकारका मन्त्री र  उच्च पदस्थ अधिकारीहरु बसन्तपुर पुगेका थिए । राष्ट्रपतिले जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गरी दक्षिणा समेत चढाउने परम्परा छ । 

जात्राको क्रममा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिक पुलुकिसी नाच समेत देखाइएको छ । पारिजातको फूल लिन आएका इन्द्रलाई लिन पुलुकिसी हात्ती आएका थिए । पुलुकिसी नाचले सबैलाइ लोभ्याउने गर्छ । यो सँगै परम्परागत लाखे प्याखँ, महाकालीनाच भक्कुनाच दशअवतार नाच समेत देखाएको थियो । 

आठ दिनसम्म मनाउने विशिष्ट सांस्कृतिक पहिचान बोकेको इन्द्रजात्रा कोभिड महामारीका वीच स्वास्थ्य मापदण्ड पालना गरिएको थियो । माक्स लगाएर जात्रा हेर्न आउनेको भीड निकै थियो ।