कांग्रेसको १४ औं महाधिवेशनका कार्यतालिका सरेको सर्यै

आश्विन ३, २०७८

सत्तारुढ नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद नयाँ विषय होइन । शीर्ष नेताहरुको स्वार्थले केन्द्रमात्र होइन वडा तहसमेत प्रभावित भएको छ ।  १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद अझै नटुंगिदा कार्यतालिका पटक पटक सर्दै आएको छ । 

कांग्रेस महाधिवेशनको पछिल्लो तालिका अनुसार असोज ५ गते २० वटा जिल्लामा वडा अधिवशेन सम्पन्न हुनु पर्छ। तर दुई नम्बर प्रदेशका ८ वटै जिल्ला सहित रसुवा, डोल्पा, बाँके, सूर्खेत र कैलालीमा क्रियाशील सदस्यता विवाद अझै मिलेको छैन । क्रियाशील सदस्यता विवाद दुई नम्बर प्रदेशमा सबै भन्दा धेरै छ । 

क्रियाशील विवाद टुंगो लागेपछि निर्वाचन सम्पन्न गर्न कम्तिमा पाँच दिन लाग्ने निर्वाचन समितिले जनाएको छ । तर त्यो समय कांग्रेससँग छैन । असोज ५ मा वडा अधिवेशन नभए ९ गते गाउँ तथा नगरपालिका र १२ गते प्रदेश क्षेत्रीय अधिवेशन हुँदै मंसिरमा ९ देखि १३ गते सम्म हुने महाधिवेशन समेत प्रभावित हुनेछ । 

क्रियाशील सदस्यता विवाद देखाएर कार्यकर्ताको चाहना, पार्टीको विधान र संबैधानिक व्यवस्था विपरित पटकपटक महाधिवेशन सार्दै आएको कांग्रेसले नयाँ कार्यतालिका पनि प्रभावित हुने निश्चित जस्तै छ । क्रियाशील सदस्यता विवादको बहानामा आफू सुरक्षित नभएसम्म महाधिवेशन नै गर्नु हुन्न भन्ने मनोविज्ञानले त काम गरिरहेको छैन ?