राष्ट्रिय मुद्दाभन्दा दलभित्रैको किचलोमा अल्झिए देउवा

भाद्र ३१, २०७८

६ वर्षसम्म पार्टीको महाधिवेशन गर्न नसकेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्व गरेको दुई महिनामै आलोचित हुन थालेका छन् । उनले मन्त्रिपरिषदलाई बिस्तार गर्न सकेका छैनन् भने प्रतिपक्षीलाई मिलाउन नसक्दा संसदसमेत अवरुद्ध छ।  पार्टीको आसन्न महाधिवेशनका कारण राष्ट्रिय मुद्दाभन्दा उनलाई दलभित्रैको किचलोले अल्झाइरहेको छ । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनबाट पुनः सभापति पद दोहोर्याउन चाहान्छन् । त्यसका लागि क्रियाशील सदस्यता वितरणदेखि तल्लो तहको अधिवेशनबाट आफ्नोपक्षको बलियो उपस्थिति बढाउन पार्टीमा उनको सक्रियता बढेको छ । उनले सरकार प्रमुखका नाताले राज्यका लागि गर्नुपर्ने  कामलाई पनि पार्टीसत्ताको अनुकुलतासँग जोडेका कारण सरकार गतिहीन बन्न पुगेको विश्लेषण गरिएको छ । 

माओवादी केन्द्र, जनता समाजवादी पार्टी र तत्कालीन एमालेका माधव नेपाल समुहको आडमा असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । देशको प्रमुख कार्यकारीको फराकिलो दृष्टिकोण र कुशल कार्यसम्पादनले मुलुकको कायापलट हुन सक्छ । तर सरकार प्रमुख भएको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री देउवाले सरकारको स्पष्ट खाका सार्वजनिक गर्न सकेका छैनन् । कतिसम्म भने मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका उनी आफुसहित ६ जनाको भरमा सरकार चलाइरहेछन् । 

पार्टीको महाधिवेशनका लागि दोस्रो र तेस्रो पुस्ताका नेताले नेतृत्वका लागि अग्रसरताका लिन थालेपछि सरकारका कामकारवाही र नियुक्तीमा समेत अंक गणित मिलाउन थालेका देउवाले सल्लाहाकार नियुक्ति र सचिवालय निर्माण समेत गर्न सकेका छैनन् । पार्टी, महाधिवेशनको रस्साकस्सीमा त उत्रियो तर सभापतिका नाताले उनले निर्वाह गर्नुपर्ने काममा देउवा सधैँ आलोचित छन् । आशन्न महाधिवेशन र पार्टीभित्रकै अलमलका कारण सरकारले समेत गति लिन सकेको छैन ।