सरकारले भएकै खोप वितरण गर्न सकेन, ४० लाख डोज भण्डारमै

श्रावण १६, २०७८

भिडभाड बढेकाले एकातिर कोभिड संक्रमणको ग्राफ ह्वात्तै उकालो लागिरहेको छ भने अर्कातिर सरकारले भएकै खोप लगाउन सकेको छैन । खोपका लागि चार घण्टासम्म लाइन बस्नुपर्ने स्थितिमा पनि खोप केन्द्र बढाइएको छैन । त्यति मात्र होइन, खोप केन्द्रमा पुगेकाहरु समेत रित्तो फर्किनुपरेका बेला ४० लाख डोज खोप सरकारले भण्डार गरेर राखेको छ ।

कोभिड संक्रमण पछिल्लो एक सातामा ह्वात्तै बढेकाले झापाका सबै बजार क्षेत्र आइतबारदेखि बन्द गरिँदै छ । त्यहाँ शनिबार मात्र १ सय ५३ संक्रमित थपिए । संक्रमण भयावह बने पनि सरकारले तोकेको लक्षित समूहले नै खोप पाउन सकेको छैन । माग अत्यधिक छ, तर भेरोसेल खोप अहिले दैनिक १२ हजारभन्दा बढी लगाइएको छैन । कतिपय स्थानीय तहले त ४५ वर्ष उमेरमाथिको समूहका लागि खोप अभियान बन्द गरिसकेका छन् । अमेरिकाबाट असार २८ मा आएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसन खोप झापामा अहिलेसम्म पुगेकै छैन ।

जोनसन खोप झापा मात्र होइन, प्रदेश १ र सुदूरपश्चिमका जिल्लामा पनि लगाउन सुरु गरिएकै छैन । कर्णालीमा बल्ल शनिबारबाट लगाउन थालिएको छ । यो खोप लगाउन स्वास्थ्य मन्त्रालयले असार २८ मै लक्षित समूह तोकी सबै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको थियो । तर १५ लाख ३४ हजार  डोजमध्ये अहिलेसम्म ५ लाख ६३ हजार मात्र लगाइएको छ । ९ लाख ७१ हजार डोज जोनसन खोप अझै सरकारी भण्डारणमा छ । चीनबाट ल्याइएको भेरोसेल खोपको २९ लाख ७० हजार डोज पनि सरकारी भण्डारणमै छ । एकातिर खोप लगाउन देशका सहरी क्षेत्रका केन्द्रमा थेगिनसक्नुको भिड छ, ती केन्द्रले सकिएको कारण देखाएर लक्षित समूहलाई बिनाखोप घर फर्काइरहेका छन् । अर्कातिर खोपलाई मुख्य प्राथमिकता दिएको भनिरहेको सरकारले चुस्त वितरण प्रणाली बनाउन सकेको छैन । महामारीको तेस्रो लहर रोक्न खोप अभियानलाई व्यापक बनाउनुपर्ने सरकारी संयन्त्र केन्द्र बढाउनेदेखि जनशक्ति परिचालनमा नराम्ररी चुकिरहेको छ । 

यसअघि १८ लाख डोज भेरोसेल खोप सित्तैमा दिएको चीनले थप १६ लाख अनुदानमा दिने बताइसकेको छ । यस्तै थप खोप किन्ने प्रक्रिया अगाडि बढाइसकिएको छ । जापान लगायत देशले कोभ्याक्स सुविधाअन्तर्गत खोप सहयोग गर्ने भनेका छन् । यो अवस्थामा भएकै खोप लगाउन गरिएको अलमलले राजनीतिक नेतृत्व, स्वास्थ्य संरचना अनि स्थानीय तहको इच्छाशक्ति नै नभएको पुष्टि गरेको छ ।