उपचारमा अहोरात्र खटिने नर्सका गुनासै गुनासा

श्रावण १४, २०७८

कोरोना भाइरसको संक्रमण फैलिरहँदा स्वास्थ्यकर्मी सबैभन्दा बढी जोखिममा परे । प्रदेश एकमा बीस हजार भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सक उपचारमा खटिएका छन् । दिनरात नभनी बिरामीको उपचारमा  खटिँदा  प्रदेश एकमा तीन हजार आठ सय स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित  भए भने चार जनाले ज्यान गुमाए । यसरी उपचारमा खटिनेमा सबैभन्दा बढी समस्यामा नर्स परेका छन् । नर्सले पीपीइ लागाएर कम्तिमा ६ घण्टादेखि आठ घण्टासम्म बिरामीको सेवा गर्छन् । यसरी सेवा गर्दा पनि उनीहरुले नत समयमै जोखिम भत्ता पाएका छन्, नत सुरक्षात्मक सामग्री नै ।

प्रदेश एकमा २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी बिरामीको सेवामा खटेका छन् । जसमध्ये एक हजार ९३ चिकित्सक र दुई हजार चार सय सात स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भए भने चार जनाले मृत्युवरण गरे ।

आफ्नो ज्यान नै जोखिममा पारेर दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीले नत समयमै जोखिम भता पाएका छन् नत सुरक्षात्मक सामग्री नै । एकजना नर्सले सामान्य बिरामी तीनजनालाई हेर्ने स्वास्थ्य मापदण्ड छ भने आइसीयूमा भर्ना भएका बिरामीका लागि एक बिरामीका लागिएक नर्स हुनुपर्ने स्वास्थ्य मापदण्ड छ । तर अहिले एकजना नर्सले पाँचजनादेखि १० जनाभन्दाबढी  बिरामीको हेरचाह गरेको अवस्था छ । 

दिनभरी बिरामीलाई सेवा दिएर बसेका नर्स काम सकेर सिधै घर जान्छन्। जसले गर्दा परिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण भएको उनीहरुको भनाइ छ । मनोवैज्ञानिक रुपमा उनीहरु तनावमा रहेका छन् ।कतिपय  गर्भवती नर्सले दिनरात नभनी कोरोना संक्रमितको उपचार गर्दा आफूलाई कोरोना संक्रमण भएको थाहा नपाउँदा गर्भको बच्चासमेत गुमाउनुपरेको छ । 

प्रदेश एकमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणका बिरामी बढ्दै गएका छन् । प्रदेश एकमा अहिलेसम्म एक लाख १० हजार तीनसय सय ८७ जना संक्रमित भएका छन् ।  एक हजार पाँच सय ४९  जनाको मृत्यु भइसकेको छ । संक्रमण दर बढ्दै जाँदा प्रदेश एकका कोभिड अस्पतालमा पनि बिरामीको चाप बढ्दो छ । सरकारले कोरोना संक्रमित बिरामीका लागि खटिने नर्स, चिकित्सक तथा स्वास्थ्य कर्मचारीका लागि कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने वातावरण सिर्जना गरी कोरोना जोखिम भत्ता समयमै उपलब्ध गराएर मनोबल उच्च रिझाउने राख्ने काम गर्न जरुरी देखिएको छ ।