सरकार नै कोरोना संक्रमणको जोखिम बढाउने बाटोमा

श्रावण १४, २०७८

अमेरिका र चीनबाट आएको खोप द्रूत गतिमा लगाउन नसकेको सरकारले सबै क्षेत्रमा भिडभाडजन्य गतिविधिका लागि बाटो खोलेर संक्रमण बढाउन भूमिका खेलिरहेको छ । अझ सरकारकै एउटा मन्त्रालयले कोभिड संक्रमण चिन्ताजनक तवरले उकालो लागेको भन्दै दिनहुँजसो सचेतना र सावधानीको आग्रह गरिरहँदा अरु निकाय त्यसलाई बेवास्ता गरिरहेका छन् । सरकारी निकायकै बीच पर्याप्त समन्वय र परिस्थितिप्रति गम्भीरता नहुँदा मुलुक अर्को संकटतर्फ धकेलिँदै छ। 

निषेधाज्ञा नाम मात्रको जस्तो भइसकेको छ । सार्वजनिक यातायात, बजार, व्यवसाय तथा कार्यालय लगायतका सबैजसो क्षेत्र निर्बाध सञ्चालन आएका छन् । कोभिडकै कारण एक वर्षदेखि  हुन नसकेका विश्वविद्यालयका परीक्षा सञ्चालन हुँदै छन् । एमबीबीएस, बिडीएस, नसिङ लगायत चिकित्सा शिक्षाका स्नातक तहका ३३ हजार विद्यार्थी सम्मिलित प्रवेश परीक्षा भिडभाडकै बीच भइसकेको छ । झण्डै तीन लाख परीक्षार्थी रहेको त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा भौतिक उपस्थितिमै लिन लागिएको छ भने कक्षा १२ को ४ लाख ५० हजार विद्यार्थीले यही साउन अन्तिमबाट परीक्षा दिँदै छन् । लोकसेवा आयोगको परीक्षा पनि नजिकिँदै छ । परीक्षाकै लागि गृह मन्त्रालयले लामो दूरीका यातायात निर्बाध सञ्चालनको अनुमति दिएको छ । प्रशासनले भीडभाड नगर्न र एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी परीक्षार्थी नराख्न भने पनि पालना भएको छैन । 

मानिसको आउजाउ बाक्लो हुँदै जाँदा संक्रमणदर २४ प्रतिशत नाघेको छ भने संक्रमित थपिने क्रम पनि चिन्ताजनक तहमा पुगेको छ । 

स्वास्थ्य मन्त्रालयले महामारीको तेस्रो लहरको सामनाका लागि प्रदेश अस्पतालहरुलाइ अक्सिजनको पर्याप्त व्यवस्था मिलाउनसमेत भनिसकेको छ । अबको पाँच महिनामा २ लाख संक्रमित थपिने मन्त्रालयको प्रक्षेपण छ । खुकुलो निधेषाज्ञासँगै हरेक क्षेत्रमा मानिसको बेपर्वाह आउजाउ र परीक्षाका नाममा विद्यार्थीको भिडभाडले स्थिति अरू भयावह हुन सक्ने विज्ञहरुको चिन्ता छ । 

दिनहुँजसो अवस्था त्रासपूर्ण बन्दै गएको भन्दै सचेत गराइरहँदा अरू सरकारी निकाय भने भीडभाड बढाउनमै केन्द्रित देखिन्छन् । जसले सम्भावित संकटबाट जोगाउनेभन्दा झन् संकटतर्फ धकेल्ने काम गरिरहेको छ ।