एन्फाभित्र चरम राजनीति, प्रशिक्षक र पदाधिकारीबिचको झगडा सामाजिक संजालमा छताछुल्ल

श्रावण १०, २०७८

अखिल नेपाल फुटबल संघ एन्फाभित्रको राजनीति र विवाद छताछुल्ल भएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफुसँग एन्फा पदाधिकारीले नाटक देखाएको भन्दै एकाएक सामाजिक सञ्जाल मार्फत् राजीनामाको घोषणा गरेपछि एन्फा बिवाद सतहमै पोखिएको हो ।

एन्फाका मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार अचानक सामाजिक सञ्जालमार्फत राजीनामा दिन लागेको घोषणा गरे । त्यो पनि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेंवाङलाई आरोप लगाएर । भलै राजीनामा भने बुझाएनन् । तर उनले आफ्नो राजीनामा खोज्दै उपाध्यक्ष नेवाङले नाटक गरिरहेको भनेका छन् । नाटक के थियो त, किन राजीनामा घोषणा गरे उनले ?  तर केही घण्टापछि भने त्यसबारे उनले खुलाउन चाहेनन् । 

गत चैतदेखि राष्ट्रिय फुटबलको नेतृत्व सम्हालिरहेका अब्दुल्लाहको नेतृत्वमा नेपालले एक मैत्रीपुर्ण  र विश्वकप छनौटका तीन खेल खेलेको छ । अहिले साफ च्याम्पियनसीपको तयारी भैरहेको छ । यहीबेला सामाजिक सञ्जालमा पोखिएको राजीनामा घोषणा प्रकरणमा आरोपित एन्फा उपाध्यक्ष नेंवाङले भने यता प्रशिक्षक अल्मुताइरीसँग कुनैपनि मदभेद नभएको र नाटक नगरेको दावी गरेका छन् । तर एक अन्तर्वातामा प्रशिक्षक अब्दुल्लाहले नेपालको फुटबल सुधारका लागि एन्फा पदाधिकारीको समेत मानसिकता परिवर्तन गर्नुपर्छ भनेकोमा आपत्ति जनाउँदै नेम्वाङले स्पष्टिकरण सोध्नुपर्ने भनेका थिए।बिवादको एउटा जड त्यसैलाई मानिएको छ ।

राजिनामा घोषणापछि एन्फाले प्रशिक्षक अब्दुल्लाहसँग छलफल गरेको छ । त्यहाँ उनले आफुलाई तनाव भएको बताएका थिए । तर तनाव के हो त्यो भने नखुलाएको एन्फाको दावी छ । त्यहाँ थप छलफल पछि गर्ने सहमति भएपछि प्रशिक्षक अब्दुल्लाहले आधिकारिक राजिनामा दिएनन् ।  

प्रशिक्षक अब्दुल्लाहले नेपाली फुटबलको खेल्ने शैलीमा परिवर्तन ल्याएको भन्दै प्रशंशा पाईरहेका छन् । तर कतिपयले बढी प्रचारमुखी भएको आरोप समेत लगाउने गर्छन् । अहिले साफको तयारी चलिरहँदा अब्दुल्लाहको आक्रोश, पदाधिकारी लक्षित आरोप र राजीनामा  घोषणाले एन्फाभित्र केही न केही चलखेल र राजनीतिक खिचडी पाक्दै गरेको बुझ्न भने कठिन छैन् ।