ए डिभिजन लिग अन्योलमा, कोभिड संक्रमणदरलाई देखाएर लिग सार्ने थ्रिस्टारसहित तीन क्लबको लबिङ

श्रावण ९, २०७८

सहिद स्मारक ए डिभिजन लिग निर्धारित तालिकामा गर्ने नगर्ने विषयमा क्लबहरुकै मत बाझिएको छ । चार पटकको च्याम्पियन  थ्रिस्टारसहित तीन क्लबले कोभिड संक्रमणदर बढेको कारण देखाएर असोज पहिलो साताबाट हुने भनिएको लिग रोक्न लबिङ गरिरहेका छन् । अरु क्लब भने तयारीमा खर्च भइसकेकाले सार्न नहुने पक्षमा छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाले असार दोस्रो साता ए डिभिजन क्लबसँगको छलफलपछि असोज तीनबाट लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यतिखेर १४ वटै क्लबले सहमति जनाएका थिए । त्यतिखेरको समझदारी अनुसार क्लब दर्ताका लागि साउन दशसम्मको समय तोकियो । क्लबहरुले खेलाडी अनुबन्ध अन्तिम चरणमा पुर्याएका छन् । अहिले आएर थ्रिस्टार, जावलाखेल युथ र फ्रेन्डस क्लब लिग रोक्नुपर्ने पक्षमा उभिएका छन् । पर्याप्त तयारी नभएको र कोभिड संक्रमणदर बढेको कारण देखाएर चार क्लब प्रतियोगिता रोक्नका लागि एक ठाउँमा उभिएका हुन् । 

निश्चय नै, भिडभाड बढेकाले केही दिनयता कोभिड संक्रमणदर बढेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सावधानीमा बेवास्ता गरे स्थिति भयावह हुने चेतावनी दिएको छ । उसका अनुसार एक सातायता संक्रमणदर २० प्रतिशतबाट घट्न सकेको छैन । तर एन्फा कोभिडकै कारण लिग रोक्ने पक्षमा छैन । स्वास्थ्य मापदण्ड अपनाएर लिग सञ्चालन गर्न सकिने उसको भनाइ छ । 

एन्फालाई एनआरटी, च्यासल युथ, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ लगायत क्लबले साथ दिएका छन् । सातदोबाटो युथ क्लबले अभ्यास सुचारु गरिसकेको छ भने एनआरटी, च्यासल, मनाङ मर्स्याङ्दी  लगायत क्लब खेलाडी अनुबन्धको अन्तिम चरणमा छन् । तयारी निकै अगाडि बढिसकेकाले लिग कुनै पनि बहानामा स्थगित गर्न नहुने उनीहरुको भनाइ छ । 

लिगलाई फुटबलको मेरुदण्ड मानिन्छ । क्लबहरु विभाजित हुँदा खेलाडीले सामाजिक सञ्जालमार्फत लिग तोकिएको समयमै गराउन दबाब बढाएका छन् ।