कोभिडका कारण महिला भलिबलले एसियन च्याम्पियन खेल्न पाएन

श्रावण ८, २०७८

नेपालका अधिकांश खेलाडीले मुस्किलले अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाउँछन् । भलिबल खेल त झन् पछि छ । तर महिला भलिबलका लागि यसपाली मुखैमा आइपुगेको अवसर पनि कोभिडकै कारण खोसियो ।  एसियाली स्तरमा पहिलो पटक प्रतिस्पर्धा गर्ने अवसरले उत्साही खेलाडी अन्तिम समयमा प्रतियोगिताबाट वञ्चित हुँदा बेचैन छन् । 

फिलिपिन्समा भदौ १३ देखि १८ गतेसम्म हुने महिला  एशियन च्याम्पियनमा सामेल हुने उत्साहका साथ नेपाली टोली बन्द प्रशिक्षणमा व्यस्त थियो । महिला टिमका लागि एशियन च्याम्पियनसिप अहिले सम्मकै ठुलो एक्सपोजर भएकोले पनि खेलाडीहरु उत्साही थिए । सेन्ट्रल जोनमा स्वर्ण, दक्षिण एशीयाली खेलकुदमा रजत जित्दै अघि बढिरहेका महिला खेलाडी र भलिबल संघ यति बेला भने स्तव्ध जस्तै छन् । कोभिड १९ को महामारीको डरकै कारण फिलिपिन्सले नेपाल सहित केही मुलुकलाई प्रवेश नदिने निर्णय गरेपछि टिमको उत्साह निरासामा परिणत भएको हो। 

नेपाली महिला भलिबलले एउटा सुनौलो अवसर गुमाए । तर अब अर्को मौका तत्काल आउने सम्भावना पनि छैन् । किनभने सन् २०२१ भर अरु कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका भलिबलमा  नभएको संघले  जनाएको छ । त्यसमाथि कोभिडले आगामी दिनमा कस्तो असर पार्छ भन्ने अन्योल नै छ । त्यसैले दक्षिण एशीयाभन्दा बाहिर आफ्नो क्षमता  देखाउन नपाउँदा खेलाडी पनि अन्योलमै छन् । 

त्यसो त भलिबल संघले यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहयोगमा अहिलेसम्म ३० लाख रुपैंया खर्च गरिसकेको छ । आर्थिक रुपमा कमजोर संघका लागि यो ठूलै खर्च हो । हुन त फेरी  पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका नआउने होइन् । तर सुनौलो पु्स्ताका महिला खेलाडीको सफलता र त्यसले दिएको हौसला प्रतियोगिता शुरु हुने बेलैमा खोसिँदा नेपाली महिला भलिबल संघ र खेलाडीका लागि धेरै नै गुमेजस्तो भएको छ । यो टिमले अब अर्को प्रतियोगिताका लागि कति समय कुर्नुपर्ने हो, त्यो पनि यकिन छैन् ।