टोकियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ सरस्वतीको चयन

श्रावण ५, २०७८

टोकियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ नेपालबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छन् । ओलम्पिकमा सहभागिता उनका लागि अकल्पनीय अवसर नै बन्यो । 

टोकियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ नेपालबाट सुरुमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिएको थियो । नेपाल एथ्लेटिक्स संघले मंसीर ६ मा गरेको नेपालगन्ज म्याराथनको च्याम्पियनका रुपमा गोपीचन्द्र छनोट भएका थिए । त्यसैले सरस्वतीले यसपालिको ओलम्पिकमा सभागिताको आश गरेकी थिइनन् । तर असार १४ गते उनका लागि पत्याउनै नसकिने खबर आयो, उनले टोकियो ओलम्पिक खेल्न पाउने भइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोटाभन्दा बढी आवेदन परेकाले म्याराथनमा नेपाल सहभागी हुन नपाउने भनी गोपीचन्द्रको नाम काट्यो र महिलातर्फ एक सय मिटर दौडमा खेलाडी पठाउन भन्यो । यहि कारण उनले ओलम्पिकमा खेल्न पाउने भएकी हुन् । 

२४ वर्षीया सरस्वती एक सय मिटर दौडमा अब्बल मानिन्छिन् । २०७० देखि नेपाली  सेनामा आवद्ध उनले घरेलु प्रतियोगितामा आफूलाई उत्कृष्ट सावित गर्दै आएकी छन् ।   डेढ वर्षअघि १३ औं सागमा उनले निर्धारित दूरी १२ मिनेट, ५५ सेकेण्डमा पूरा गरेकी थिइन् । 

जुन उनको उत्कृष्ट प्रदर्शन हो । दुई वर्षअघि दोहामा भएको वर्ल्ड च्याम्पियनसिप लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन पनि उनी छानिनुको कारण हो । 

१० वर्षअघि  क्षेत्रिय राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गरेपछि सरस्वती एथ्लेटिक्सका प्रशिक्षक विनयजंग थापा र चन्द्र गुरुङको नजरमा परेकी थिइन् ।  दुई प्रशिक्षककै सल्लाहमा उनी बर्दियाबाट नेपालगन्ज आइन् । सरस्वतीलाई अहिले पनि प्रशिक्षण दिइरहेका गुरुङले व्यक्तिगत प्रदर्शन सुधारको अपेक्षा गरेका छन् । 

टोकियो ओलम्पिकमा सहभागी हुन सरस्वती साउन १० गते जापान जाँदैछिन् । व्यक्तिगत प्रदर्शन सुधारको अवसरमा उनी सफल हुन्छिन् हुँदिनन् ? धेरैको चासो छ ।