बाढीका कारण काठमाडौंमा मेलम्चीको पानी कहिले आउँछ भन्ने अनिश्चित

असार ८, २०७८

करिब २५ वर्षको पर्खाइपछि काठमाडौंका बासिन्दाले मेलम्चीको पानी पाएका थिए। तर निर्माणको काम पूरा गर्न र सुरुङ परीक्षणका लागि भन्दै आयोजनाले असार १ गतेदेखि नै केही समय वितरण रोकेको थियो। बिहान ११ बजे सुरुङ बन्द गरेपछि ८ घण्टा नबित्दै साँझ मेलम्चीमा भीषण बाढी आयो । र, आयोजनाको हेडवर्क्स क्षेत्र नै डुबायो । अब काठमाडौंमा मेलम्चीको पानी कहिले आउँछ भन्ने अनिश्चित बनेको छ । किनभने बाढीको जोखिम नसकिएसम्म त्यहाँ काम गर्ने स्थिति नै छैन ।

मेलम्चीको बाढीले खानेपानी आयोजनाको हेडवर्क्स क्षेत्र बालुवाले ढाकिएको मात्रै छैन, प्रवेश मार्ग, कफर ड्याम र  रिटेनिङ वाल बगाएको छ। पानी प्रशोधन गर्न बनाइएको संरचना र सुरुङ क्षेत्र पुरिएका छन् । त्यसबाहेक वरिपरिका अस्थायी संरचना, कामदार बस्ने शिविर पनि बगाएको छ। चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोका ३ प्राविधिक, भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडका ३ र नेपाली २ प्राविधिक पनि बगाएको छ । जसमध्ये तीनजनाको शव भेटिएको छ भने ५ जना अझै बेपत्ता छन्। मेलम्ची बजारबाट आयोजनास्थल जाने पुल समेत बगाएकाले निरीक्षण टोली पुग्न सकेको छैन । जसले गर्दा क्षतिको पूर्ण अवस्था पनि यकिन छैन ।

अहिले काठमाडौंतर्फबाट सुन्दरीजलको पानी फालेर सुरुङ खाली गरिँदै छ । सुरुङ पूरै खाली गर्न क्रमश सिन्धु, ग्याल्थुम र अम्बाथानको निकासद्वार खोल्नुपर्ने हुन्छ। तर, अम्बाथानसम्म जाने सडक छैन। बर्खाको जोखिमका कारण गेटको बाहिरबाट गएर पानी खोल्न सकिने अवस्था पनि छैन । त्यसैले पनि बाढीले क्षति पुर्‍याएका संरचना बनाउन र सुरुङ परीक्षण सकेर काठमाण्डौंमा पुन: पानी वितरण गर्न महिनौं लाग्ने अनुमान छ ।