नेपाललाई सर्वाधिक सताएको डेल्टा प्रजातिको भाइरस नयाँ स्वरुपमा देखिन थाल्यो

असार ८, २०७८

यसले व्यापार व्यवसायमा खुकुलो नीति लिंदा स्थिति फेरि भयावह हुने त होइन भन्ने आशंका बढेको छ । 

नेपालका ४८ नमुनाको परीक्षण गर्दा नौ जनामा डेल्टा प्रजाति नयाँ स्वरुपमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । डेल्टा पहिलोपटक भारतमा पहिचान गरिएको प्रजाति हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ गते नमुना छनोट गरेर विश्व स्वास्थ्य स‌ंगठनको समन्वयमा परीक्षणका लागि भारत पठाएको थियो । स‌ंकलित नमुनामध्ये एउटामा अल्फा भेरियन्ट देखिएको थियो । बाँकी सबैमा डेल्टा भेरियन्ट देखिएको र त्यसमा पनि ९ वटामा उत्परिवर्तनसहितको के फोर वान सेभेन एन म्युटेसन पुष्टि भएको मन्त्रालयले जनाएको छ । एवाई वान नाम दिइएको यो उत्परिवर्तित स्वरूप १० वटा देशमा यसअघि नै पुष्टि भइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले थोरै व्यक्तिहरुले मात्रै खोप लगाएकाले ठूलो संख्यामा जोखिममा रहेका व्यक्तिलाई प्रभावपार्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ । अहिले विदेशी प्रयोगशालामा परिक्षण गरी पुष्टी गरिएको सन्दर्भमा नेपालमा पनि नयाँ स्वरुपको भाइरस पहिचान गर्ने प्रयोगशालाको क्षमता विकास गर्दै जाने मन्त्रालयले जनाएको छ ।