बाढीपहिरोले सडक भत्केपछि मनाङमा खाद्यान्न संकट, भोकमरीको जोखिम

असार ७, २०७८

हिमाली जिल्ला मनाङमा खाद्यान्न ढुवानी त्यसै पनि गाह्रो छ, त्यसमाथि वर्षातको समयमा त झनै गाह्रो हुन्छ । बाढीपहिरोका कारण सडक सञ्जाल नै टुट्दा भोकमरी नै लाग्छ । अहिले यस्तै भोकमरीको चपेटामा छ हिमाली जिल्ला मनाङ ।

असार १ गते आएको बाढीले हिमाली जिल्ला मनाङ तहसनहस बनाएको छ । मर्स्याङ्दी, घट्टेखोला, स्याक्रुखोला, तिमाङखोलामा आएको बाढीपहिरोले सदरमुकाम चामेमा १० घर बगायो। त्यस्तै नासों गाउँपालिका वडा नं. १  तालगाउँमा ३० घर डुबानमा परेका छन् । जिल्लाभर ५३ घर पूर्ण क्षति भएका छन्, भने करिब ९ सयभन्दा धेरै घर बाढीपहिरोको उच्च जोखिममा छन् ।  

विभिन्न ठाउँमा बिजुलीको पोल ढलेका छन्। फोनको तार चुँडिएको छ । एउटा बेलिव्रिज , ७ वटा काठेपुल, ५वटा  झुलुङ्गे पुल र चामेमा रहेको पक्की पुल बाढीले बगाएको छ  । एक गाउँवाट अर्का गाउँ जानसक्ने अवस्था छैन । यातायातका साधन सबै बन्द भएको हुँदा खाद्यान्न अभाव भएको हो । 

बाढीले सबैभन्दा बढी चामे गाउँपालिका र नासों गाउँपालिकामा क्षति पुर्‍याएको छ । लमजुङ चामे मनाङ सडकखण्ड अधिकांश ठाउँमा क्षतविक्षत भएको  छ । पानी परिरहेको हुदाँ सडक मर्मत गर्न समय लाग्ने भएकाले खाद्य संस्थानबाट खाद्यन्न मनाङमा ढुवानी गर्न समस्या भएको छ । 

बाढीबाट विस्थापित भएका परिवारलाई जिल्ला कारागारको भवनमा राखिएको छ  । प्रदेश सरकारले पहिलो चरणमा राहत वितरण गरेपनि अन्य व्यवस्थापनको प्रक्रिया अझै अघि बढाउन नसक्दा भोकमरीको चपेटामा पर्नसक्ने अवस्था सिर्जना भएको हो ।