हेलम्बुका घरबारविहीनले पाँच दिनपछि पाए ओत लाग्न टेन्ट, खानाको समस्या उस्तै

असार ७, २०७८

असारको पहिलो दिन बाढीले घरबारगविहीन भएका हेलम्बुका प्रभावितले पाँचदिनपछि बल्ल त्रिपाल र टेन्ट पाएका छन् । विस्थापित भएदेखि गुम्बा, आफन्तको घर र जोखिम क्षेत्रमै खुल्ला आकाशमुनि पालमा बस्दै आएका हेलम्बुका ३७ परिवारले टेण्ट पाउन पनि पाँच दिन कुर्नुपर्‍यो ।

बाढीले घर बगाएपछि पाँचदिनदेखि आफन्तको घरमा आश्रय लिई बसेका हेलम्बुका दावा तामाङले बल्ल टेण्ट पाएका छन् । घरखेत र आफन्त गुमाउनु पर्दाको पीडा एकातिर, अर्कोतिर पाँचदिनसम्म ओत लाग्ने ठाँउ नहुँदा तामाङको परिवार समस्यामा थियो । 

एक्कासी बाढी आएकाले पीडितहरुले घरमा भएको अन्नपात र सरसामान समेत निकाल्न पाएनन्। कतिले झरीमा रुझ्दै भोकैभाकै रात बिताएका छन् । अहिले नेपाली सेनाको सहायतामा निर्माण भएको टेण्टमा बाढीबाट बचेखुचेको दाल चामल ल्याएर उनीहरुले  छाक टारिरहेका छन् ।   

गाउँपालिकाले टेण्ट उपलब्ध गराएपछि हेलम्बुका ३७ परिवारले ढिलै भएपनि ओत लाग्न त पाए, खानको लागि भने समस्या छ । जबजब सााझ पर्दै जान्छ, तबतब खोलाले आकार र आवाज बढाउाछ । त्यसपछि त्रसित पीडित टर्च बालेर नदी नियाल्छन् । क्षति व्यहोर्नुको पीडासँगै बाढी त्रास नहटेकाले पीडितको निन्द्रा हराएको छ । 

खोलामा बाढीको बहाव घटबढ भइरहेको छ । हेलम्बुको तिम्बु, किउल, चनौटे, ग्यालथुमदेखि मेलम्चीसम्म बाढीको कटान र भौतिक संरचनामा क्षति अहिले पनि जारी छ । प्राकृतिक विपत्तिले जनधनको क्षति भइरहेको अवस्थामा विस्थापित परिवारलाई अन्यत्र स्थानान्तरण गर्ने कुनै सुरसार छैन । विद्युत आपुर्ती नहुँदा स्थानीय अन्धकारमा छन् ।