दोलखामा जडित पहिरो सूचना प्रणाली चार वर्षदेखि बेकामे

असार ७, २०७८

दोलखा सुन्द्रावतीको थामी बस्तीमा चार वर्षअघि पहिरो सूचना प्रणाली जडान गरियो । नेपालकै पहिलो र नमूनाका रुपमा जडान गरिएको सूचना प्रणालीको साइरन एकपटक बज्यो, त्यसपछि थन्किएको छ । अझ रोचक त, सूचना प्रणालीका सामग्री कहाँ छन् भन्ने कसैलाई पत्तो छैन ।

दोलखाको कालिञ्चोक गाउापालिका सुन्द्रावतीमा चार वर्षअघि पहिरो आउनु अघिनै जानकारी दिने पूर्व-सूचना प्रणाली जडान गरियो । यो सूचना प्रणाली यतिखेर कहाँ छ, कसैलाई पत्तो छैन ।

पहिरोको उच्च जोखिममा रहेको वस्तिमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र भूसंरक्षणको सहकार्यमा नेपालमै पहिलो पटक नमूनाका रुपमा जडान गरिएको पहिरो सूचना प्रणाली अहिले बेकामे छ । यति मात्रै होइन यसका उपकरण कहाँ छन्, स्थानीय बेखवर छन् । 

बस्तीको सिरानमा पहिरोको सूचना प्रणाली राखिएको थियो । जसअन्तर्गत पहिरो जानसक्ने स्थानमा सेन्सर गाडिएका थिए । यस्तै वर्षा नाप्ने यन्त्र पनि जडान  थियो । जमिन चलमलाएमा साइरन बज्ने र स्थानीयलाई भाग्ने अवसर मिल्ले गरी यो प्रणाली जडान गरिएको थियो । तर, जोडेको पहिलो वर्षमै यो असफल भयो । 

जिम्मेवार निकायले एक पटक पनि सूचना प्रणालीको अवस्था बारे जानकारी समेत लिएनन् । देशभरका जोखिमपूर्ण बस्तिमा यस्ता प्रणाली जडान गर्ने तयारी भैरहँदा पहिरोको पहिलो सूचना प्रणालीको नामो निशान छैन ।