कोभिडविरुद्ध खोप व्यवस्थापन गर्न नसक्दा ५४ दिनमा ३ खर्बको क्षति

असार ६, २०७८

समयमै खोप व्यवस्थापन गर्न नसकेको परिणाम निषेधाज्ञा लम्ब्याउनु परिरहेको छ । यसले जनजीवन सामान्य हुन त सकेको छैन नै, मुलुकले ठूलो आर्थिक क्षति पनि व्यहोर्नुपरेको छ । ३० अर्ब खर्चेर खोप ल्याउन गरिएको अलमलले सरकारकै अनुसार वैशाख १६ यता मात्र त्यसको १० गुणा बढी अर्थात ३ खर्ब हाराहारी क्षति भइसकेको छ । 

कोभिडविरुद्ध खोप विकास भएको ६ महिना भयो । यो अवधिमा चीनले १८ लाख र भारतले १० लाख डोज सित्तैंमा दिएकाले तथा कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज आएकाले पहिलो डोज २५ लाख जनाले पाए । तर दुवै डोज पाउनेको संख्या भने ७ लाख ३१ हजार मात्र छ । जबकि जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १६ लाखलाई खोप लगाउने भनिएको थियो । तर सरकारले अहिलेसम्म १० लाख डोजभन्दा किनेको छैन । भारतको सिरम इन्स्टिच्युटसँग किन्दा ४७ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो । सबैलाई पुग्ने गरी किनेको भए ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुँदैनथ्यो । तर सरकारले सुरुमै खरिदमा तदारुकता नदेखाएको परिणाम १ करोड ९२ लाखका लागि खोप अनिश्चित बन्न पुगेको छ । 

  दुवै डोज खोप लगाएकाहरुमा कोभिडको जोखिम निकै कम हुन्छ । खोप लगाएका विकसित देश सामान्य अवस्थामा फर्किन थालिसकेका छन् । जारी युरोकप दर्शकको उपस्थितिमै भइरहेको छ ।

अमेरिका लगायत केही देशमा खोपका कारण मास्क लगाउन छोडिएको छ । तर हामीकहाँ भने सरकार खोप व्यवस्थापन गर्न असफल भएकाले निषेधाज्ञा लम्ब्याउनु परिरहेको छ। यसले एकातिर दैनिकी सहज हुन सकेको छैन भने अर्कातिर आर्थिक क्षति अकासिएको छ । वैशाख १६ यताको अवधिमा मात्र ३ खर्ब रुपैयाँ हाराहारी क्षति भएको सरकारले नै बताएको छ । 

जनजीवन सामान्य बनाइ आर्थिक क्रियाकलाप बढाउनका लागि खोपको विकल्प छैन । त्यसैले सरकारले दाताको सहयोग पर्खिने भन्दा पनि किनेर ल्याउनका लागि आफ्नो सबै शक्ति लगाउनुपर्ने देखिन्छ । अन्यथा आर्थिक क्षति धान्नै नसक्ने गरी बढ्नेमा दुईमत छैन ।