निषेधाज्ञाले सप्तरीका विपन्न परिवारलाई गुजाराको चिन्ता

असार ६, २०७८

कोरोना भाइरसबाट जनतालाई जोगाउन सप्तरीमा एक महिना अघिदेखि निषेधाज्ञा जारी छ । तर निषेधाज्ञाका कारण दैनिक मजदुरी गर्ने गरिब बिपन्न वर्गले काम गर्न नपाउँदा उनीहरुलाई दुई छाक जुटाउन नि धौं धौं भएको छ ।

सिमावर्ती सप्तरीको छिन्नमस्ता गाउँपालिकाका पप्पु मरिक डोमलाई भाइरस भन्दा नि निषेधाज्ञाले सताएको छ । भाइरसबाट जोगिन घरमै बस्नु सरकारको निर्देशन पालना गरिरहँदा उनले परिवारलाई दुई छाक कसरी जुटाउने चिन्तासँग कसैलाई मतलब छैन । परिवार चलाउने माध्यम बाँसको नाँग्लो, छिटा, ढकिया बिक्री गर्ने काम नै बन्द भएपछि उनले दुई छाक जुटाउन समस्या भएको गुनासो गरेका हुन् ।

यो भन्दा कम समस्यामा छैनन्– सप्तरी विष्णुपुर गाउँपालिकाका गरिब बिपन्न परिवार । निषेधाज्ञाकै कारण दैनिक जाला मजदुरी गर्न नपाउँदा घरमा खाधान्न अभावले तीन दिनसम्म चुल्हो बल्न नसकेको गुनासो उनीहरुको छ । 

एक वर्षअघिको लकडाउनमा स्थानीय र प्रदेश सरकारले गरिबलाई राहत सामग्री उपलब्ध गराएपनि यसवर्ष  राहत उपलब्ध नगराएकै कारण समस्या भएको हो । 

कतैबाट राहत उपलब्ध नहुँदा सप्तरीका अधिवक्ता धर्मेन्द्र यादवले अदालतमा रिट दर्ता गरेपछि जेठ २४ गते उच्च अदालत जनकपुरको राजविराज इजलासले निषेधाज्ञाको समयमा गरिब बिपन्न परिवारलाई किन राहत वितरण नगरेको भन्दै प्रदेश २ सरकारलाई पन्ध्र दिनभित्र जानकारी गराउन आदेश गरेको छ । संविधानको धारा ३६ को खाध सम्बन्धी हक, संघीय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन २०७४ र प्रदेश २ सभाले जारी गरेको विपद् ब्यवस्थापन ऐन २०७५ बमोजिम निषेधाज्ञाको अवधीमा गरिब बिपन्न परिवारलाई सरकारले राहत वितरण गर्नुपर्ने उल्लेख छ ।