पहाडी र हिमाली १७ जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्यो 

असार ४, २०७८

कोभिड संक्रमणको जोखिम कम भएको निष्कर्षमा निषेधाज्ञा विस्तारै खुकुलो पार्न थालिएको छ । सहरी क्षेत्रमा संक्रमण घटेपनि  गाउँवस्तीमा भने बढिरहेको छ । १७ वटा पहाडी र हिमाली जिल्लामा एक सातामा सक्रिय संक्रमितको संख्या कम हुनुको साटो थपिएको छ । त्यसैले आवागमन खुकुलो बनाउँदा कोभिड फेरि भयावह हुन सक्ने जोखिम चिकित्सकले औंल्याएका छन् । 

पाँचथरमा जेठ २५ मा १ सय ७७ सक्रिय संक्रमित थिए । त्यो संख्या बढेर बुधबार २ सय ५१ पुग्यो । नुवाकोटमा एक सातामा सक्रिय संक्रमित १ सय ४३ जना थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार दोलखा, रसुवा, बागलुङ, रोल्पा लगायत १७ वटा पहाडी र हिमाली जिल्लामा सक्रिय संक्रमित एक सातामा बढेका छन् । सहरी क्षेत्रमा निषेधाज्ञाको प्रभावले संक्रमणदर कम भएपनि 

गाउँ वस्तीमा भने बढिरहेको निस्फिक्री हिंड्डुल र सकेसम्म परीक्षण नै नगराउने प्रवृत्तिले रोग फैलिएको हो । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय  

समग्रमा कोभिड संक्रमणदर घटेको देखिन्छ । संक्रमणदर ५० बाट २० प्रतिशत हाराहारीमा झरेको छ । पीसीआर विधिबाट परीक्षण गर्दा  दैनिक कोभिड देखिनेको संख्या २ हजारबाट तल झरेको छ । उता संक्रमणमुक्त हुनेको संख्या भने बढिरहेको छ । मन्त्रालयका अनुसार दोस्रो लहर उच्चतम  विन्दुमा पुग्दा १ व्यक्तिले २ देखि ३ जनासम्मलाई रोग सारेका थिए । अहिले एकभन्दा बढीलाई सारेको देखिंदैन । यसैलाई आधार मानेर निषेधाज्ञा क्रमश खुकुलो पार्न थालिएको हो । तर संक्रमणदर बढिरहेका गाउँवस्तीमा सावधानीका उपाय नअपनाइ आवागमन खुकुलो बनाए अवस्था फेरि पनि भयावह हुनसक्ने चिकित्सकहरुको चेतावनी छ । 

५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई जोखिमपूर्ण मानिन्छ। हामीकहाँ अझै त्यसको चार गुणा बढी संक्रमण दर छ । त्यसैले जोखिम हटिसकेको रुपमा आवागमन सबैतिर सहज पार्दा स्थिति सम्हाल्न गाह्रो हुन सक्नेतर्फ पनि ध्यान दिने कि ?