आइसोलेसनमा बस्नुपर्नेहरु नै भोजभतेरमा

असार ३, २०७८

स्वास्थ्यकर्मीले घरघर पुगेर कोरोनाको जाँज गराउन खोज्दा पनि स्थानीयको अटेरीले ग्रामीण क्षेत्रमा कोरोना झनै बढ्न थालेको छ । कोरोना संक्रमित व्यक्तिले स्वास्थ्य परीक्षण गराएर सुरक्षित आईसोलेसनमा बस्नु पर्नेमा निर्वाध समाजमा घुम्न थालेका कारण ग्रामीण क्षेत्रमा कोरोना संक्रमित तीव्ररुपमा फैलिएको स्वास्थ्यकर्मीको अनुभव छ ।

अमरगढी नगरपालिका वडा नम्बर ३ मा रहेको घटाल स्वास्थ्य चौकीका प्रमुख लोकराज पनेरुले यसैसाता गाउँगाउँ पुगेर कोरोनाको  परीक्षणागर्न सबै स्थानीयलाई खबर गरे । तर खबर गरेको  दोस्रो दिन एन्टीजेन चेक गर्न सबै स्वास्थ्यकर्मी सहित उनी स्वास्थ्य चौकीमा जम्मा भएपनि ३ बज्ने बेलासम्म ११ जना मात्रै आए । उनकै सल्लाहमा जनप्रतिनिधि घरघर पुगेर सम्भावित संक्रिमतलाई चेक गराउन आग्रह गरेपनि कसैले मानेन् । यो एक प्रतिनिधि घट्ना मात्रै हो सुदूरपश्चिमका सबैजसो गाउँमा कोरोना संक्रमण हुनेको संख्या दैनिक बढ्दो क्रममा छ । स्थानीयले स्वास्थ्य जाच नगरी निर्वाध घुम्दा झन् समस्या निम्तिएको स्वास्थ्यकर्मीको भनाइ छ । 

कोरोना परीक्षण गरेपछि आईसोलेसनमा बस्नु पर्ने भएपनि स्थानीय कोरोना भाइरसको संक्रमण  भएपनि लुकाएर गाउँघरमा दैनिक हुने सामाजिक कार्यमा सहभागी हुँदा गाउँमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको हो । विवाह, व्रतबन्ध, भोजभतेर र रोपाई जस्ता कार्यमा संक्रमित र संक्रमित नभएकासँगै बस्दा  ग्रामिण क्षेत्रमा कोभिड भेरियन्ट दोस्रोको संक्रमण तिव्र बन्न थालेको छ । 

रहेक दिन स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरघरमै पुगेर लक्षण देखिएपछि तत्काल कोरोना परीक्षण गर्न स्थानीयलाई आग्रह गर्दछन् तर स्थानीय स्वास्थ्यकर्मीको आग्रहलाई सधै इन्कार गरी रहेका छन् । 

जनचेतनाको अभावले स्थानीयबासिन्दा कोरोना संक्रमण भएपनि परीक्षण नगरी घरमै बस्न थालेका कारण उनीहरुको स्वास्थ्यमा थप समस्या  हुने गरेको छ । ग्रामिण क्षेत्रमा स्थानीय सरकार र स्वास्थ्यकर्मीले कोरोना भाइरसको  संक्रमणका विषयमा  घरघरमै पुगेर जनचेतना अभिवृद्धि गर्नुपर्ने अवस्था देखिएको  छ ।