कोरोनाविरुद्धको खोप व्यवस्थापन अन्योलमा

असार २, २०७८

कोभिडविरुद्धको खोप सहयोग गर्न राष्ट्रपति विद्या भण्डारीले जेठ दोस्रो साता विभिन्न देशका प्रमुखलाई पत्राचार गरेकी थिइन् । तर चीनबाहेक कुनै पनि मुलुकबाट खोप आउनु त टाढाको कुरा, अहिलेसम्म पत्रको नै जवाफ आएको छैन ।  

कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले १२ साताको मापदण्डमा दोस्रो डोज नपाउने भएपछि जेठ १२ मा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पत्र नै पठाएर खोप आपूर्तिमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । 

जेठ १२ मै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनवार्ता गरेकी थिइन् । जेठ १५ भित्र उनले अमेरिका र रुसका राष्ट्रपति तथा बेलायतकी महारानीलाई पत्र पठाएकी थिइन् । चीनले प्रतिबद्धता जनाएर अनुसार १० लाख डोज खोप दिइसकेको छ । तर बाँकी देशले पत्रको जवाफसमेत पठाएका छैनन् । राष्ट्रपतिले गरेको आग्रहमा जवाफ नै नआउनुले हाम्रो कूटनीतिक माध्यमबाट कुनै गृहकार्य नै नगरी पत्राचार भएको देखिन्छ । 

त्यसो त जेठ १४ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका र चीनसँग ५०/५० लाख डोजका लागि कुरा भइरहेको तथा बेलायत र रुसमा पनि खरिदका लागि पत्राचार गरेकाले १० देखि १२ दिनभित्र खोपबारे नयाँ घोषणा हुने बताएका थिए । तर उनले भनेको समय गुज्रिसक्दा कुनै देशबाट पनि खोप पाउने जवाफ आएको छैन । पत्राचार गरेका देश र त्यहाँका कम्पनीले ठोस जवाफ नदिएकाले स्वास्थ्य मन्त्रालय खोप कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलमा छ । सरकारले व्यवस्थापन गर्न नसक्दा फागुन अन्तिममा कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाखभन्दा बढी ज्येष्ठ नागरिकले १४ साता बितिसक्दा पनि दोस्रो डोज कहिले पाउँछन् भन्ने यकिन हुन सकेको छैन ।