गम्भीर भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिले मृत्युदर घटेन

असार १, २०७८

कोभिडको पहिलो लहर उच्च विन्दुमा पुग्दा एकै दिन ३२ जनाले ज्यान गुमाएका थिए । अहिले दोस्रो लहरमा संक्रमणदर घट्यो भनिरहँदा नै दैनिक मृत्यु ४६ बाट घटेको छैन । चिकित्सकहरुका अनुसार, कोभिडका बिरामी गम्भीर भएपछि मात्र अस्पताल पुग्ने गरेकाले मृत्युदर अपेक्षाकृत कम हुन नसकेको हो । 

सोमबार कोरोनाबाट संक्रमित ५३ जनाले ज्यान गुमाए । यो संख्या आइतबार ४६ थियो । वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्मको दैनिक आँकडा हेर्दा यो संख्या कम हो । तर पहिलो लहरको संक्रमण उच्च विन्दुमा पुगेका बेलाको भन्दा भने यो मृत्युदर निकै बढी हो । पहिलो लहरमा एकै दिन ३२ सम्मको ज्यान गएको थियो । जबकि अहिले संक्रमण दर घट्दै गएको भनिंदा पनि मृत्यु संख्या ४६ बाट तल झरेको छैन । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिडका कारण दैनिक ३ देखि ४ जनाको ज्यान गइरहेको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि दैनिक २ जनासम्मको मृत्यु भइरहेको छ । 

बैशाखयताको दुई महिनामा कोभिडका ५४ सय १० बिरामीको मृत्यु भइसकेको छ । यसले दैनिक सरदर ९० जनाको ज्यान गएको देखाउँछ । यसबीचमा एकै दिन २ सय ४६ जनासम्मको ज्यान गएको थियो । पछिल्लो एक साता औसत दैनिक मृत्यु संख्या ५६ छ । मृत्युदर केही कम भए पनि अघिल्लो लहरको तुलनामा यो निकै बढी हो । गम्भीर भएपछि मात्र अस्पताल जाने प्रवृत्ति र आईसीयु तथा भेन्टिलेटर भरिभराउ भएका कारण मानवीय क्षति बढी भएको चिकित्सकको भनाइ छ । 

कोभिड गाउँगाउँमा फैलिए पनि आवश्यक मात्रामा परीक्षण हुन सकेको छैन । कोभिडसँग मिल्दाजुल्दा लक्षणका बिरामीले ज्यान गुमाइरहे पनि त्यो मृत्युलाई स्वास्थ्य मन्त्रालयले आफ्नो आकडामा समावेश गरेको छैन । त्यसैले क्षति घटेको रुपमा बुझ्न नहुने चिकित्सकहरुको भनाइ छ ।