विदेशबाट प्राप्त सहयोग सामग्रीको वितरण पारदर्शी भएन

जेष्ठ ३१, २०७८

कोभिड रोकथामका लागि विदेशबाट सहयोग नआएको दिन नै छैन । विभिन्न मुलुकका साथै संघसंस्थाले सहयोग गरिरहेकै छन् । तर विदेशबाट प्राप्त सहयोग पहुँचका आधारमा वितरण भइरहेको छ । सरकारले एकद्वार नीति अवलम्बन गरेको भनेपनि त्यसको परिपालना भएको छैन।

स्वास्थ्य मन्त्रालयलाई आइतबार युरोपियन युनियनका सदस्य राष्ट्र स्लोभेनिया, अस्ट्रिया र माल्टाले १० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरे । मन्त्रालयले विदेशी सहयोगका स्वास्थ्य सामग्री बुझेको यो पहिलो पटक होइन । दिनदिनैजसो सहयोग प्राप्त भइरहेको छ । चीन, अमेरिका, स्पेन, डेनमार्क, लगायत  देशबाट  अहिलेसम्म ९५ वटा भेन्टिलेटर , ९ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर, ५ हजार १२ अक्सिजन सिलिन्डर सहितका  सामग्री सहयोगस्वरुप प्राप्त भएको छ । ओमानका नेपालीले आफैं आर्थिक सहयोग जुटाएर छ सय अक्सिजन सिलिण्डर पठाए । ती सामग्री एकद्वार प्रणाली लागू गरी आवश्यकताका आधारमा वितरण गरिरहेको मन्त्रालयको दाबी छ । 

मन्त्रालयले एकद्वार प्रणाली लागू गरी प्राथमिकताका आधारमा वितरण गरेको भनेपनि स्वास्थ्य सामग्रीमा पहुँचवालाको बोलवाला छ । आफ्नो क्षेत्रमा सामग्री लाने होडमा मन्त्री र सत्तारुढ दलका नेता मात्र होइन, प्रतिपक्षी नेपाली कांग्रेसका नेता पनि अगाडि छन् । पछिल्लोपटक कांग्रेस नेता अर्जुननरसिंह केसीले अमेरिका नेपाल मेडिकल फाउन्डेसनले  दिएका स्वास्थ्य सामाग्री आफ्ना बाबुआमाको नाममा स्थापना भएको ट्रस्टको नामबाट नुवाकोटको म्यागाङ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाइ हस्तान्तरण गरेका छन् । यसको जानकारी उनले आफ्नो ट्वीटर ह्यान्डलमार्फत सार्वजनिक पनि गरिसकेका छन् । तर यसप्रति फाउन्डेसनले ट्विटमार्फत नै असन्तुष्टि प्रकट गर्दै यसबारेमा सोधखोज गरिरहेको जनाएको छ ।

यसअघि ओमानमा रहेका नेपालीले पनि आफूले भनेका अस्पताललाई अक्सिजन सिलिण्डर नदिएको भनी आक्रोश पोखेका थिए । सांसद र पहूँचवाला नेताले  विदेशबाट प्राप्त सहयोग आफूले नै ल्याएकोजस्तो गरेर लैजाने प्रवृत्ति छ । 

पहुँचवालाको बोलवालाले एकातिर सरकारी वितरण प्रणाली भद्रगोल छ । आएको सहयोग कता, कसरी र कति वितरण भयो भन्ने एकिकृत तथ्यांक पनि छैन ।