बालबालिकाको उपचारका लागि पूर्वाधारको कमी 

जेष्ठ ३०, २०७८

कोभिडको तेस्रो लहरले बालबालिकामा बढी संक्रमण हुनसक्ने जोखिम सरकारले नै औंल्याएको छ । तर बालबालिकाको उपचारका लागि आवश्यक पूर्वाधारचाहिं छैन ।  

कोरोना संक्रमितको संख्या ६ लाख नाघ्दा त्यसमा १८ वर्षमूनिको संख्या ४८ हजार अर्थात ८ प्रतिशत छ । पहिलो लहरमा २१ हजार ५ सय बालबालिका संक्रमित भएकामा दोस्रो लहरमा कोभिड पुष्टि हुने बालबालिकाको संख्या साढे २७ हजार नाघिसकेको छ । त्यस्तै कोभिडका कारण अहिलेसम्म ६८ बालबालिकाको ज्यान गएको छ । अर्कातिर बालबालिकाका लागि अहिलेसम्म कोभिडविरुद्धको खोप बनिसकेको छैन । त्यसैले स्वास्थ्य मन्त्रालयले नै तेस्रो लहरमा बालबालिकामा संक्रमणको जोखिम बढी हुने भनेको छ । तर अस्पतालमा बालबालिकाका लागि आईसीयु, भेन्टिलेटर लगायत संरचनाको अभाव छ । त्यसैले सबै अस्पताललाई बालबालिकाका लागि २० प्रतिशत शय्या छुट्याउन र अक्सिजनको जोहो गर्न मन्त्रालयले  निर्देशन दिइसकेको छ ।  

सरकारी तहमा बालबालिकाका लागि एउटा कान्ति अस्पताल छ । निजीस्तरमा त्यस्ता आधा दर्जन अस्पताल छन् । तर अरु अस्पतालमा बालबालिकाकै लागि भनेर न पर्याप्त शय्या छुट्याइएका छन्, न त अन्य सुविधा उपलब्ध छन् । पछिल्लो समय अनुदानमा आएकामध्ये एक सय भेन्टिलेटर बालबालिकाका लागि छुट्याइएको छ । तर जडान भने गरिएको छैन । मन्त्रालयले औंल्याएजस्तो कोभिडको तेस्रो लहरले बालबालिका बढी संक्रमित भए अहिलेको पूर्वाधारले धान्दैन । चिकित्सकहरु उपचार नै प्रभावित हुने जोखिम औंल्याउँदै तयारीमा ढिलासुस्ती गर्न नहुने बताउँछन् । जोखिम औंल्याएको मन्त्रालय अस्पतालहरुलाई निर्देशन दिने भूमिकामा मात्र सीमित रहनु हुँदैन । संक्रमण रोकथामका उपायसँगै पूर्वाधार विस्तारमा सहजीकरण पनि अहिलेको आवश्यकता हो ।