पाल्पामा गाउँगाउँमै पीसीआर परीक्षण शिविर,नमुना दिन बिरामी अनिच्छुक

जेष्ठ २७, २०७८

पाल्पाका ग्रामीण क्षेत्रमा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण भएका बिरामी छन् । गाउँपालिकाहरुले परीक्षणका लागि शिविर नै सञ्चालन गर्दासमेत बिरामीहरु परीक्षण गर्न मान्दैनन् । यसले गर्दा संक्रमणको जोखिम बढेको छ ।

तिनाउ गाउँपालिकाको झुम्सामा वडा कार्यालयले दुई पटकसम्म स्वाब संकलनका लागि शिविर राख्यो । तर नजिकैको बेरुवा गाउँका बासिन्दा एक जना पनि स्वाब दिन आएनन् । गाउामा लक्षणसहितका बिरामी भएको सूचना वडा कार्यालयमा आइरहेको थियो । स्थानीयले स्वाब दिन मान्दै नमानेपछि गाउँमै स्वास्थ्यकर्मी र जनप्रतिनिधि पुगेर जर्बजस्ती ३० जनाको नमुना परीक्षणका लागि स्वाब संकलन गर्दा २३ जनाको आरटीपिसीआर पोजेटिभ पुष्टि भयो । तिनाउकै सत्यवती गाउँमा बिरामी भएपनि अटेर गरेर बसेका २४ जनाको नमुना परीक्षण गर्दा १२ जनामा पोजेटिभ पुष्टि भयो । तिनाउकै कोलडाँडामा २१ जनामा १० जनामा पुष्टि भयो भने दोभान क्षेत्रमा १४ जनाको नमुना परीक्षण गर्दा १० जनामा पोजेटिभ पुष्टि भयो । यी केही उदाहरण मात्र हुन् । यस्तो समस्या तिनाउ गाउँपालिकाको धेरै बस्तीमा छ ।   

तिनाउ गाउँपालिकाले गाउागाउामा लक्षणसहितको बिरामी भएको तथ्यांक संकलन गरेर सबै वडामा पुगेर नमुना परीक्षणका लागि आरटिपिसिआर गरेको छ । कतिपयलाई एन्टिजेन पनि गरेको छ । तर समयमा आरटीपीसीआरको रिपोर्ट प्रयोगशालाबाट नआउँदा झन् लापरबाही बढेर भाइरसको संक्रमण नियन्त्रणमा समस्या देखिएको छ ।  

स्वास्थ्य कार्यालयले भने अझै पनि कतिपय स्थानीय तहले नमुना परीक्षण र कन्ट्याक्ट टे्रसिङ नै नगरेकाले पनि नियन्त्रणमा कठिनाइ भएको छ । ढिलो गरेर स्वाब संकलन गर्दा संक्रमणको अवस्था जटिल भएर मृत्यु दर पनि बढेको छ । 

तानसेन नगरपालिका, रैनादेवी छहरा, माथागढी गाउँपालिकाले पनि वडावडामा पुगेर पीसीआर परीक्षण शिविर नै सन्चालन गरेका छन् । तर जाच गराउन आउनेको संख्या भने धेरै कम छ । स्वाबको परीक्षणमा पाल्पा अस्पतालको प्रयोगशालाले ढिलाई गर्दा गाउँगाउँमा कोरोना संक्रमण फैलिएको हो । नतिजा नआउँदै खेतबारीमा काम गर्न हिड्ने, परिवारसाग घुलमेल हुने, मेलापात जाने समस्याले नियन्त्रणमा कठिनाई भएको हो ।