स्वास्थ्य चौकीमा प्रसूति सेवा लिनेको घुँइचो, ठूला अस्पताल कोभिड बिरामीले भरिए

जेष्ठ २७, २०७८

कोरोना संक्रमणका कारण ठूला अस्पतालले दिँदै आएका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएकाले  कोरोनाबाहेकका बिरामीहरु कोरोना संक्रमित भर्ना  नभएका  र ग्रामीण भेगका स्वास्थ्य केन्द्रमा उपचार गर्न जान थालेका छन् । विशेषगरी गर्भवती महिलाले सुत्केरी हुन ठूला अस्पताल छाडेर स्वास्थ्य चौकी र बर्थिङ सेन्टरलाई पहिलो रोजाइ बनाएका छन् । आफू र आफ्नो शिशुको स्वास्थ्य सुरक्षाका लागि गर्भवती महिला बजारबाहिरका स्वास्थ केन्द्रमा जान थालेका हुन् ।

नेपालगन्ज शहरमा ठूला अस्पतालहरु छन् । तर गर्भवती महिला सुत्केरी हुन यस्ता अस्पतालमा भन्दा बजारबाहिरका स्वास्थ्य केन्द्र जान थालेका छन् ।  कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएसँगै ठूला अस्पतालमा कोरोना भाइरस संक्रमण भएका बिरामी भरिभराउ भएपछि विकल्पका रुपमा महिलाले प्रसूति सेवा लिन वर्थिंग सेन्टर रोज्न थालेका हुन् ।

शून्य मातृ शिशु मृत्युदरमा १ सय ६२ स्वस्थ शिशु जन्माउने वार्षिक लक्ष्य भएका स्वास्थ्य केन्द्रहरुमा लक्ष्य भन्दा तेब्बर महिलाले प्रसूति सेवा लिएका छन् । नेपालगन्जको उदयपुर स्वास्थ्य चौकीले मात्रै आर्थिक वर्ष २०७७∕०७८ मा ५ सय ३५ जना महिलालाई सुरक्षित प्रसूति सेवा दिइसकेको छ । कोरोना संक्रमण सुरु भएयता चैतमा ४३, वैशाखमा ३१ र जेठको दोस्रो सातासम्म ९ जनाले गरी ८३ जना गर्भवतीले प्रसूति सेवा लिएका छन् ।

जटिल अवस्थाबाहेकका गर्भवतीले कोरोना संक्रमणको त्रासले ठूला अस्पताल छोडेर स्वास्थ्य चौकीमै प्रसूति हुँदा सुरक्षित महसुस गर्ने गरेका छन् भने स्वास्थ्यकर्मीको निगरानीसमेत बढी पाएका छन् । वडास्तरकै स्वास्थ्यचौकीका वर्थिङ सेन्टरलाई थप सुविधासम्पन्न बनाउन सकिए सामान्य अवस्थामा समेत गर्भवतीलाई ठूला अस्पताल धाउनुपर्ने झन्झट अन्त्य हुने र स्वास्थ्यकर्मीको उपयुक्त हेरचाहले मातृशिशु मृत्युदरमा समेत कमी आउने थियो ।