ओलम्पिकमा पहिलोपल्ट समावेश कराँते नेपालले खेल्न नपाउने

जेष्ठ ७, २०७८

ओलम्पिक इतिहासमै पहिलोपल्ट कराँते खेल समावेश हुँदा नेपाली खेलकुद उत्साही थियो। तर कराँतेमा अब्बल नेपाली टिमले ओलम्पिकमा प्रतिनिधित्व पहिलो अवसर भने गुम्ने जोखिम बढेको छ । छनोटको सम्भावना गुमेपछि वाइल्ड कार्डको प्रतिक्षा गरिरहेको नेपालले कराँते महास‌ंघको वैधानिकताको अभावमा त्यो अवसर पनि नपाउने देखिएको छ । 

नेपालले  कराँतेबाट टोकियो ओलम्पिकमा सहभागि हुन वाइल्ड कार्डको प्रतिक्षा गरिरहेको छ । तर पुरेन्द्रविक्रम लाखेले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताको र दावा गुरुङले नेतृत्व गरेको राष्ट्रिय मान्यताको कराँते महासंघबीच एकता भएपनि त्यसको नविकरण नहुँदा वैधानिकतामै प्रश्न उठेको छ। किनभने सन् २०१४ को एसियाली खेलकुद खेल्न जानुअघि नवीकरण गरिएयता नेपाल कराँते महासंघले नवीकरण नै गरेको छैन् । नत त्यसयता कुनैपनि आधिकारिक प्रतियोगितामा नै सहभागि भएको छ । नवीकरणका लागि हरेक २ वर्षको २ हजार ६ सय स्वीस फ्र्यांक तिर्नुपर्छ । सातवर्ष यताको यो रकम झण्डै १३ लाख रुपैंया हुन आउँछ। 

राखेपकै सक्रियतामा २०७५ साल फागुनमा एकीकरण भएपछि तीन महिनाभित्र निर्वाचन गर्नेगरी शम्भु आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । तर १३ औं दक्षिण एसियाली खेलकुद र कोरोनाका कारण अहिलेसम्म निर्वाचन भएको छैन् । यसको अर्थ अझैपनि कराँतेको वैधानिक एकता नहुनु हो । लाखेका अनुसार डब्लुकेएफमा ५६ लाख रुपैयाँ तिर्न बाँकी छ । 

राष्ट्रिय मान्यता प्राप्त महासंघका तत्कालीन अध्यक्ष गुरुङले भने ओलम्पिक सहभागिताका लागि फेडेरेसनको नविकरणले कुनै समस्या नहुने दावी गरेका छन्। एकीकरणपछि नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय कराँते फेडेरेसनमा अपटेड नगरिदिएको पनि उनले टेलिफोनमा बताए । अन्तिम समयमा ओलम्पिक छनौट खेल्न नपाएको नेपालले वैधानिकताकै कारण वाइल्ड कार्डको संभावना गुमाउने जोखिम छ । यसले खेलाडी र प्रशिक्षकलाई निराश बनाएको छ ।  

कराँते महासंघको लापर्वाहीकै कारण यसअघि पोर्चुगलमा मार्च ३० देखि अप्रिल दुईसम्म हुने प्रतियोगिता पनि खेलाडीले गुमाएका थिए । अहिले फेरि पेरिसमा हुने ओलम्पिक छनौटपनि खेल्न नपाउने भएका छन् । ओलम्पिकको तयारीका लागि कराँतेबाट अनु अधिकारी र नवीन रसाइली वाइल्ड कार्डको आशामा प्रशिक्षणरत छन् । उनीहरुलाई सागका स्वर्ण विजेता दीपक श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् । तर वाइल्डकार्डको सम्भावना पनि कमजोर बन्दै गएको छ । नेपाललाई अन्तराष्ट्रिय स्तरमा पदक दिलाउने सूचीमा पर्ने कराँते खेललाई पहिलो पटक ओलम्पिकको अवसर समेत गुम्ने अवस्थामा पुर्याउनेलाई कसले कारवाही गर्ने ?