नेपाली टिमको अबको मिसन विश्वकप छनोट

जेष्ठ २, २०७८

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको पहिलो संस्करण सम्पन्न भएको छ । कोरोना महामारीबीच भएको लिगले दर्शकको साथ पाएन । तर बन्द रंगशालामा खेलाइएको लिगले युवा खेलाडीका लागि राष्ट्रिय टिमसम्म पुग्ने ढोका खोलेको छ ।  करिब तीन साता चलेको लिगलाई नजिकबाट नियालेका राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भन्छन्-  लिगमा हिरा फेला पारे । 

जुनसुकै फरम्याटमा खेलाइएपनि घरेलु प्रतियोगिताको मुख्य उद्देश्य  राष्ट्रिय टिमका लागि नयाँ खेलाडी उत्पादन गर्नु हो । नेपालको पहिलो फ्रेन्चाइज लिगले नयाँ प्रतिभालाई एक्सपोजरको मौका प्रदान गर्यो । सात टिमबीचको प्रतिस्पर्धालाई राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले खेलाडी छनोटको आधार बनाउने भएका छन् । उनले नेपाली राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि यो पहिलो घरेलु प्रतियोगिता हो   । नेपाली टिमको अबको मिसन विश्वकप छनोट र साफ च्याम्पियनसिप हो । 

कोरोना महामारीका कारण अखिल नेपाल फुटबल संघले यो पटक ए डिभिजन लिग सञ्चालन गरेन । त्यसैले सुपर लिग खेलाडी छनोटको आधार बनेको छ ।  केही युवा खेलाडीको प्रदर्शनबाट लोभिएका मुख्य प्रशिक्षक अल्मुताइरीले लिगमा हिरा भेटिएको भनेका छन् । उनले केही पुराना खेलाडीलाई भने राष्ट्रिय टिममा स्थान नदिने संकेत गरे । राष्ट्रिय टिममा अब युवा खेलाडीको बाहुल्यता हुने छ ।

सुपर लिग खेलेकामध्ये करिब दश नयाँ खेलाडीलाई राष्ट्रिय टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राख्ने प्रशिक्षकको तयारी छ । समय अनुकुल रहे नेपालले दुई सातापछि इराकसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसपछि विश्वकप छनोट अन्तर्गत कुबेतमा चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।