गाउँ-गाउँमा डँढेलो झैँ फैलियो कोरोना

जेष्ठ १, २०७८

भारतबाट फर्किएकालाइ बिना परिक्षण र बिना क्वारेन्टिन गन्तव्यमा जान दिएको र शहरमा बस्नेहरु पनि स्वास्थ्य अनुशासन बिना गाउँवस्ती छिरेपछि कोभिड संक्रमण गाउँगाउँसम्म डँढेलो झैँ फैलिएको छ। ग्रामिण वस्तीमा कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामी बढे पनि परीक्षण भने नगण्य छ, जसले रोकथाम थप चुनौतीपूर्ण बनाएको छ ।  

हिमाली जिल्ला हुम्लाका विकट ताजाकोट र सर्केडाडा गाउँपालिकामा रुघाखोकी, ज्वरो, टाउको र जीउ दुख्ने लगायत समस्याका बिरामी बढेपछि  जिल्ला स्वास्थ्य कार्यालयले एक साताअघि नमुना परीक्षण गर्यो । ताजाकोटमा ४६ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भयो ।  सर्केडाँडाको अवस्था पनि फरक छैन । भारत गएकाहरु र देशकै अरु शहरमा बस्नेहरु गाउँ फर्किएपछि रुघाखोकी, ज्वरो, टाउको र जीउ दुख्ने लगायत समस्याका बिरामी बढेका हुन् । तर सबै बिरामीको नमुना परीक्षण भएको छैन । 

काठमाडौंकै गाउँ वस्तीमा पनि कोभिडसँग मिल्दोजुल्दो लक्षणका बिरामी बढेका छन् । 

श‌ंखरापुर नगरपालिकाको बोजिनी, काउले लगायत गाउँमा प्रायघरमा बिरामी छन् । काउलेमा शुक्रबार एकै परिवारका चार जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखियो । भक्तपुरको चाँगुनारायण नगरपालिकाले चार दिनअघि नगरकोट फेदी क्षेत्रमा १ सय २० जनाको नमुना परीक्षण गर्यो । तीमध्ये ६६ जनामा संक्रमण देखियो । हुम्ला, काठमाडौं र भक्तपुर मात्र होइन, अन्य जिल्लाका गाउँवस्तीमा पनि कोभिड लक्षणका बिरामी दिनदिनै बढिरहेका छन् । संक्रमितको संख्या दुई दिनमा धनकुटामा ४३ थपिएर ४ सय ४३, तेह्रथुममा ३१ थपिएर २ सय ४८, काभ्रेमा २ सय ३८ थपिएर ५६ सय ४६ र डोटीमा ७५ थपिएर १९ सय १५ पुगेको छ । 

उदयपुरको सुन्दरपुर गाउँमा त बिरामी नरहेका घर नै छैनन् । 

गाउँवस्तीका अधिकांश बिरामी निस्फिक्रि हिंड्ने गरेका छन् । परीक्षणका लागि अधिकांश स्थानीय तहले चासो देखाएका छैनन् । तर यसैगरि बेवास्ता गरिरहे महामारीबाट गाउँवस्तीमा ठूलो क्षति पुग्नुका साथै रोकथाम निकै चुनौतीपूर्ण हुने चेतावनी चिकित्सकले दिएका छन् ।