कर्णालीका अस्पतालमा स्वास्थ्य उपकरण अलपत्र, महामारीमा बिरामीलाई सास्ती

जेष्ठ १, २०७८

दोस्रो लहरको कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेका बेला अधिकांश विरामीलाई अक्सिजनसहित आईसीयू र भेन्टीलेटरमा राख्नुपर्ने अवस्था छ । तर, कर्णालीका जिल्ला अस्पतालहरुमा भने करोडौ मूल्यमा खरिद गरिएका आईसीयू, भेन्टिलेटर थन्किएका छन् भने, अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने सुरसारै छैन् ।

गत वर्ष नै आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट सञ्चालन गर्ने भनिएपनि प्रदेशका दश वटै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छैन् । आईसीयू र भेन्टिलेटर जडान गरिएपनि सञ्चालन हुन सकेका छैनन् । संक्रमण तिव्र गतिमा फैलिएसंगै कर्णालीमा लक्षण सहितका जटिल प्रकृतिका विरामीलाई अक्सिजनको सहायतामा आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छ । गम्भीर प्रकृतिका विरामीकै उपचारका लागि कर्णालीमा रहेका १ सय ४७ शैया आईसीयूमध्ये ३७ तथा ३५ बेड भेन्टिलेटरमध्ये १२ वटा सञ्चालन हुने अवस्था छैन । दक्ष प्राविधिक जनशक्तिकै अभावमा सञ्चालनमा ल्याउन नसकिएको सरकारी अधिकारीको भनाई छ । 

मुगु बाहेक नौ जिल्ला अस्पतालमा जडान गरिएका आईसीयू र भेन्टिलेटर थन्किएका छन् भने, अक्सिजन प्लान्ट सञ्चालनको सुरसार छैन् । बरु भएका सिलिण्डर अन्यत्र पठाएर भर्ने कार्य भइरहेको छ । केही अस्पताल भने सहयोगी दाताको भर परेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मात्रै अक्सिजन प्लान्ट, आईसीयू, र भेन्टिलेटर फुल फेजमा सञ्चालित छन् । दक्ष प्राविधिक जनशक्ति भने चार जना मात्रै   छन् । करोडौँ खर्चिएका आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट समयमै सञ्चालनमा ल्याउन नसक्दा विरामीले उपचारमा थप सास्ती बेहोर्नबाध्य छन् । 

प्रदेश सरकारले गतवर्षदेखि हालसम्म स्वास्थ्यको पूर्वाधार ठड्याउनकै लागि एक अर्व बढी रकम खर्च गरिसकेको छ । त्यसैले जनशक्तिको जोहो गरी करोडौँ मूल्यमा खरिद गरिएका यि स्रोत, साधनलाई जति सक्यो छिटो सुचारु गर्नसके गम्भीर प्रकृतिका विरामीले राहत पाउने मात्रै होईन, ज्यानै जाने खतराबाट जोगिन  सक्छन् ।