प्रदेश-१ का हिमाली र पहाडी जिल्लामा चिकित्सक कै अभाव, परामर्श पाउनै मुस्किल

जेष्ठ १, २०७८

प्रदेश-१ का हिमाली र पहाडी जिल्लामा कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि स्थानीय तहहरुले पूर्वाधार तयार गरे पनि जनशक्ति अभाव छ । जसोतसो बनाइएका कोरोना अस्थायी अस्पतालले डाक्टरै पाएका छैनन् । डाक्टरका लागि स्थानीय तहले गरेका विज्ञापनमा आवेदन नै पर्दैन ।

धनकुटाको शहीदभूमि गाउापालिकाले थलथलेमा १६ शैया क्षमताको कोभिड अस्पताल तयार पारेको छ । मेडिकल अधिकृत सहित दुइजना स्टाफ नर्सका लागि तीनपटकसम्म सार्वजनिक सूचना गर्दा एकजनाको पनि आवेदन परेन । पााच शैयाको आइसोलेसन कक्ष संचालनका लागि चारपटक सूचना गरेको चौविसे गाउापालिकाले चिकित्सक र सहयोगी स्वास्थ्यकर्मी पाएको छैन । यी स्थानीय तहले आउने चिकित्सकका लागि केन्द्रबाट प्राप्त हुने सुविधामा शतप्रतिशत जोखिम भत्ता थपेर दिने निर्णय गरेका छन् । तैपनि पटक-पटक गरिएका विज्ञापनमा आवेदनसमेत परेका छैनन् । संखुवासभाका स्थानीय तहमा बनाइएका आइसोलेसन सेन्टरमा पनि चिकित्सक र सहयोगी स्वास्थ्यकर्मी छैनन् । 

संक्रमित बिरामिको उपचारका लागि अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएका ताप्लेजुङ्गको फक्ताङलुङ, पाथीभरा याङवरक, सिदिङवा, मिक्वाखोला र मैवाखोला गाउापालिकाले चिकित्सक र सहयोगी स्वास्थ्यकर्मी व्यवस्था गर्न सकेका छैनन् । मेरिङदेन, आठराई त्रिवेणी र सिरिजंगा गाउपालिकाले भने शतप्रतिशत भत्ता थपेर केही समयका लागि बल्लतल्ल चिकित्सकको जोहो गरेका छन् । धनकुटा, भोजपुर, इलाम, पााचथर, तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकका दरबन्दी खाली छन् । जिल्ला अस्पतालकै यस्तो हालत भएका बेला गाउामा सञ्चालित अस्थायी कोरोना अस्पताल र आइसोलेसनमा भर्ना हुने बिरामीले चिकित्सकको मुखै देख्न नपाउने अवस्था छ ।