बिरामीका आफन्त अक्सिजन लिन उद्योगमै

वैशाख ३१, २०७८

यतिबेला बिरामीको ज्यान बचाउने पहिलो आवश्यकता अक्सिजन बनेको छ। किनभने अक्सिजन नपाएरै बिरामीले ज्यान गुमाईरहेका छन् । तर उद्योगहरुमा उत्पादन भैरहेकै छ । त्यसो हो भने अक्सिजन कहाँ गैरहेको छ त ? 

ललितपुरको यो उद्योगभित्र धमाधम अक्सिजन भर्ने काम भैरहेको छ । बाहिर लाईनमा भेटिए नारायण प्रसाद नेपाल । घरमा बुवालाई निरन्तर अक्सिजन चाहिएको भन्दै उनी एक सिलिण्डर अक्सिजन लिन उद्योगमै पुगेका थिए । उनकै अगाडी थिए, उत्तम ढकाल । उनी आफन्तका लागि चाहिएको भन्दै त्यहाँ पुगेका हुन्। अक्सिजन अत्यावश्यक भएरै उनीहरु त्यहाँ पुगेका होलान् । तर उनीहरु कसैसँग पनि अस्पतालको प्रेस्क्रिप्सन थिएन् । 

यसरी नै धेरैले घरमा नियमित अक्सिजन चाहिने भन्दै व्यक्तिगत रुपमा खुरुखुरु आउछन र पैसा तिरेर लैजान्छन् । चाँगुनारायण नगरपालिका–४ का अध्यक्ष पनि उद्योगमै पुगेर नगरपालिकाले १० शैयाको अस्पताल बनाएको र आफैंलाई भोट हाल्नेको जीवन बचाउन भन्दै नगद तिरेर अक्सिजन लिएर गए। व्यक्तिहरुले धमाधम सिलिण्डर बोकेर गैरहँदा  हृयाम्स र  चिरायु अस्पतालका गाडी पनि अक्सिजनकै पालो कुरेर बसिरहेका थिए । चारघण्टा कुरेपछि बल्ल चिरायुका लागि १४ सिलिण्डर तयार भयो । 

उद्योगको गेटमा बाहिरिएका सबै अक्सिजनको तथ्यांक राख्ने प्रहरी पनि तैनाथ थिए । 

अक्सिजनको एउटा उद्योगमै देखिएका यी तीन दृष्यले अक्सिजन सप्लाई प्रणाली कसरी अघि बढेको छ भन्ने प्रष्ट पार्छ ।

 

विरामीको अवस्था अनुसार अक्सिजनको माग अत्यधिक नै छ । तर राज्य संयन्त्रले अस्पतालहरुमा रहेका करिव ८ हजार बिरामीलाई पनि किन समयमा अक्सिजन उपलब्ध गराउन सकिरहेको छैन्  ?  त्यसो होइन भने उद्योगमा उत्पादन भैरहेका अक्सिजनका सिलिण्डर अस्पतालमा जीवन र मरणको दोसाधमा रहेका बिरामीले नपाएर कसले लगिरहेको छ त ? सरकारसँग कुनै तथ्यांक छैन् । आज कुन अस्पताललाई कति अक्सिजन चाहिने हो, उसले को संग माग्ने, त्यसको व्यवस्थापनको जिम्मा कसले लिने ?  सरकारसँग यो संयन्त्र नहुँदा अस्पतालमा बिरामीको ज्यान गरैरहेको छ तर सरकार भने निर्देशन दिएकै भरमा उम्किरहेको छ ।