१५ दिनभित्र अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन सम्भव छैन : निजी अस्पताल

वैशाख ३१, २०७८

अक्सिजन अभावले कोरोना संक्रमितको मृत्युदर बढेपछि सरकारले १५ दिनभित्र प्लान्ट राख्न अस्पतालहरुलाई बुधबार निर्देशन दियो । अस्पताल सञ्चालकहरु भने १५ दिनमा अक्सिजन प्लान्ट राख्न सम्भव नै हुँदैन भनिरहेका छन् । उनीहरुले सरकारी निर्देशनलाई समस्या समाधान गर्नेभन्दा पनि जिम्मेवारीबाट उम्कने काइदा भनेका छन् ।  

स्वास्थ्य मन्त्रायले एक सयभन्दा बढी शय्याका अस्पताललाई १५ दिनभित्र प्लान्ट राख्न भनेको थियो । तर निर्देशन दिएजस्तो प्लान्ट राख्न सहज भने छैन । अक्सिजन प्लान्ट विदेशबाट मगाउनुपर्छ । खरिद सम्झौता गरेलगत्तै कम्पनीहरुले अक्सिजन प्लान्ट भन्ने बित्तिकै दिन पनि सक्ने अवस्था छैन, समय लाग्छ । त्यसैले १५ दिनमा  अक्सिजन प्लान्ट राख्ने सरकारी निर्देशनलाई निजी अस्पतालले समस्या समाधान गर्नेभन्दा जिम्मेवारीबाट भाग्ने प्रयासका रुपमा अर्थ्याएका छन् । उनीहरुका भनाइमा प्लान्ट राख्न दुई देखि तीन महिना लाग्ने भएकाले यस्तो बेला सरकारले नै अक्सिजनको व्यवस्थापन गर्नुपर्छ । 

मन्त्रालयको भने आफ्नै तर्क छ । सरकारी प्रकृयाबाट धेरै समय लाग्ने भएकाले निजी क्षेत्रलाई निर्देशन दिएको उसको भनाइ छ । उसका अनुसार एक सय शय्यामाथिका अस्पतालले अक्सिजन प्लान्ट राख्नुपर्ने पुरानै मापदण्ड हो । अहिले अक्सिजनको हाहाकार भएकाले १५ दिने समयसीमा दिइएको हो । समस्या समाधानकै लागि र निजी क्षेत्रलाई प्रोत्साहित गर्न अक्सिजन प्लान्टका सामग्रीमा भन्सार छुटको निर्णय गरेको मन्त्रालयको भनाइ छ ।  

अहिले १४ वटा निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । अरु अस्पताल ग्यास उद्योगमा निर्भर छन् । सरकार निर्देशन दिएर पन्छिने र कार्यान्वयन गर्नै सकिंदैन भन्ने निजी अस्पतालको जवाफले अक्सिजन अभावको समस्या तत्काल समाधान हुने देखिंदैन ।