एनएसएल- लिग चरणको समिक्षा

वैशाख २८, २०७८

घरेलु फुटबलको नौलो अभ्यास नेपाल सुपर लिग एनएसएलको राउण्ड रोविनका खेलहरु सकिएका छन् । पहिलो पटक अक्सनबाट खेलाडी अनुबन्धन तथा व्यापारिक घरानाको आयोजना र संलग्नतामा भैरहेको प्रतियोगिताका क्रममा युरोपेली मुलुकको खेल शैली पनि देखियो । केही गोल त विश्वस्तरीय नै रहेभन्दा फरक पर्दैन् । तर रेफ्रीको निर्णयमा आएको विवाद तथा विराटनगर एफसीको खेल भावना विपरितको कार्यले भने खल्लो बनायो ।

कोरोना महामारीका कारण नेपाल सुपर लिगमा दर्शकलाई प्रवेश दिइएको छैन् । माहोल राम्रो हुन्थ्यो र दर्शकले प्रवेश पाउँथे भने रोमाञ्चक खेलको मज्जा बर्षौपछि आफ्नै आँखा अघि देख्न पाइन्थ्यो। हुन त प्रतियोगिताको तयारीदेखि टिमको खेल तालिका समेत व्यवस्थित थिएन । जसका कारण घाइते खेलाडीले रिकभरी समय नै पाएनन् । तर दर्शकलाई जुरुक्कै उचाल्ने खेल देखियो एनएसएलको लिग चरणमा । शुरुका केही बाहेकका खेलहरु प्रतिस्पर्धात्मक देखिए । सबैभन्दा धेरै गोलको सनसनी खेल विराटनगर सिटी एफसी र काठमाण्डौ रेर्जसको भयो । जहा काठमाण्डौले पाच-चारको अन्तरले नतिजा आफ्नो पक्षमा बनाएको थियो । मैदानमा  गोलको बर्षा भइराख्दा तातिएको दुइ  प्लेयर बक्सको माहोल र दुवै पक्षका एक–एकजना अफिसियलले रातो कार्ड खाएको दृश्य पनि रोचक देखियो। काठमाण्डौंका मेसोके ओलोमोउको हृयाट्रिक गोलपछिको  सेलिब्रेसन गज्जब थियो । 

विराटनगरका सन्तोष तामाङले डि बक्स बाहिरबाट गरेको तीन गोल विश्वस्तरिय थियो । उनकै टिम मेट्स पेड्रो मान्जीको स्पेनिस शैली र गोल  एनएसएलका हाइलाइट्स नै हुन् । यसबाहेक दर्शन गुरुङ, आशिष लामाको गोल पनि अविस्मरणीय रह्यो । 

यता प्रशिक्षक  प्रदिप हुमागाइको बर्खास्तपछि ललितपुरको प्ले अफसम्मको रोमाञ्चक यात्रा र अञ्जन विष्टको उत्कृष्ट प्रदर्शन पनि कम रहेन । 

कोरोना कहरकाबीच स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर लिग जारी रहनु सकारात्मक हो । तर विराटनगर र ललितपुरबीचको खेल भने लिगमै दाग लगाउने खालको रह्यो । शनिबार भएको खेलमा दोस्रो गोल खाएपछि विराटनगरका पेड्रो मान्जी बाहेक अरु खेलाडीले मैदान छाड्नुलाई आक्रोश र खेलमा अपरिपक्कताको नजिरका रुपमा हेरिएको छ। त्यसो  त रेफ्रीको निर्णयमाथि पनि प्रश्न उठाइयो । काठमाण्डौं रेर्जस तथा विराटनगरको खेलपछि प्रशिक्षक बालगोपाल र यान लले रेफ्री अपरिपक्व भएको आरोप नै लगाए ।  

प्रतियोगिताको लिग चरणका २१ खेल सकिँदा ३२ जना खेलाडीले ५० गोल गरेका छन्  । अब प्लेअफमा मंगलबार र बुधबार हुने खेलमा काठमाण्डौं  र धनगढी एफसी तथा बुटवल लुम्बिनी र ललितपुर एफसी भिड्दैछन्। प्रतियोगिताको फाईनल खेल जेठ १ गते हुनेछ ।