सरकारबारे दलहरुको ध्रुविकरण अझै अन्योलमा 

वैशाख ५, २०७८

सत्ता समिकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीमा एकमत हुन नसक्दा संघीय सरकारबारे दलहरुबीचको ध्रुविकरण अन्योलमा परेको छ । पार्टी नै दुई कित्तामा विभाजित भएपछि बैकल्पिक सरकार गठनमा जाने कि ओलीलाई साथ दिने भन्ने विषयको रस्साकस्सी डेढ महिनादेखि टुङ्गोमा पुग्न सकेको छैन् । यसको असर केन्द्रमा मात्रै हैन, प्रदेश सरकारमा समेत परेको छ । 

जनता समाजवार्दी पाटीका शीर्ष तहका नेताहरुबीच यो साता लगातार दुईदिनसम्म सत्ता समिकरणमा विषयमा अन्तिम निर्णय लिन भन्दै छलफलमा जुटेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले बैकल्पिक सरकारको नेतृत्व गर्न तयार रहेको भन्दै चैत २७ गते धारणा माग गरेपछि जसपाका नेताहरू छलफलमा बसेका हुन्। तर ओली सरकारमा जानुपर्ने महन्थ ठाकुर समूह र जानै नहुने अडानमा रहेको उपेन्द्र यादव समूहबीच ठोस सहमति हुन नसक्दा निर्णय हुन सकेन् । जसका कारण सत्ता समिकरणको अन्तिम टुङ्गो केन्द्रीय कार्यकारणी समितिबाट लगाउने भनिएको छ । तर समितिको बैठक बस्ने बिषय नै अनिश्चित नै छ । त्यसो त नेतृत्व तहले छिनोफानो गर्न नसकेको विषय कार्यकारिणी समितिबाट टुङ्गो लागिहाल्छ भन्ने अवस्था पनि छैन । किनभने संसदमा ठाकुर समूह केही बलियो देखिएपनि ५१ सदस्यीय कार्यकारिणी समितिमा भने यादव नेतृत्वको समूह बलियो छ । श्रोतका अनुसार ठाकुर नेतृत्वको समूह पार्टी फुटाएर भएपनि ओलीलाई समर्थन गर्ने मनसायमा पुगिसकेको छ । तर उनीहरु नयाँ सत्ता समिकरणको आधार बनिनसकेको बताइरहेका छन् । 

सत्ता समिकरणमा देखिएको यो तहको कित्ताकाटले दुई भिन्न धारमा रहेका तत्कालीन राजपा र समाजवादी दल मिलेपनि बैचारिक र कार्यगत एकरूपता अझै नभएको प्रष्ट देखिन्छ । जसपाभित्रको दुई धारले अहिले पार्टीमा मात्र नभै राष्ट्रिय राजनीतिलाई नै अन्योलमा पुर्याएको छ । 

केन्द्रमा जस्तै लुम्बिनी प्रदेशको सत्ता समिकरणमा पनि जसपा नै निणार्यक मानिएको छ । तर केन्द्रको विवाद नमिल्दा लुम्विनी प्रदेशको सरकारको समिकरण समेत अनिश्चित छ । अन्य प्रदेशमा स्थिति पनि यही हो । यसले के देखाउँछ भने जबसम्म जसपाले प्रष्ट निर्णय गर्दैन् तबसम्म नयाँ सत्तासमिकरण तानातानकै भूमरीमा घुमिरहन्छ ।