सिक्टा सिँचाइबाट वन्यजन्तुको आहारविहार खल्बलिन नदिन अध्ययन

माघ ८, २०७७

बाँकेमा कम्दी करिडोर अन्तर्गत पर्ने सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा ट्यापिंग क्यामरा मार्फत वन्यजन्तु मैत्री संरचनाको प्रभावकारीताको अध्ययन सुरु भैरहेको छ । जंगलभित्र निर्माण भइरहेका भौतिक पूर्वाधारका कारण वन्यजन्तुको आहारविहार र बासस्थानमा परेको समस्या पत्ता लगाउन क्यामरा मार्फत अध्ययन सुरु गरिएको हो ।

राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविक मार्गमा कुनै पनि भौतिक संरचना निर्माण गर्दा वन्यजन्तुमाथि प्रतिकुल असर नपर्ने सुनिश्चितता गरिन्छ । तर, जंगल क्षेत्रमा भइरहेका विकास निर्माणले पार्ने वातवरणीय असरका कारण वन्यजन्तुको आहार-बिहारमा प्रतिकुल असर पर्दै गएको छ । यही कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुने गरेको देखिएपछि बाँकेको  सिक्टा नहरमा क्षेत्रमा ट्यापिंग क्यामेरा जडान गरी अध्ययन गर्न थालिएको छ । 

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना कम्दी जैविक मार्ग अन्तर्गत पर्छ । यो नहर निर्माणपछि वन्यजन्तुको बासस्थान खलबलिएर विभाजित हुनुको साथै आवागमन समेत बाधा पारेको भन्दै त्यसको अध्ययन गर्न थालिएको हो । नहरको दुबै तर्फको स्लोपमा पक्की ढलान गरिएकाले वन्यजन्तुलाई पानी खानका लागि सिंढीको निर्माण त गरिएको छ तर ति स्लोपहरु निकै टाढाको दुरीमा भएकाले वन्यजन्तुको ज्यान जाने गरेको छ । 

तीन महिनासम्म सिक्टाको भौतिक संरचनामा बनेका वन्यजन्तु मैत्री संरचनाको प्रभावकारीता, विकास र संरक्षणको सन्तुलन भए नभएको अध्ययन गर्ने गरी क्यामेरा जडान गरिएका छन् । जडान गरिएका  क्यामेराबाट प्राप्त नतिजाका आधारमा पर्यावरण र पारिस्थितिक प्रणालीको सम्बन्ध, वन्यजन्तुको सहजताका लागि सुधार र अब निर्माण गरिने भौतिक संरचनालाई  कसरी वातावरण र वन्यजन्तु मैत्री बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालिने भएको छ ।