उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा भोलिदेखि १५ दिन सेवा बन्द

श्रावण २३, २०७७

व्यापारिक केन्द्रमा काम गर्नेहरुमा पनि संक्रमण देखिन थालेको छ । जनघनत्व अधिक रहेको काठमाडौं उपत्यकामा संक्रमितको संख्या ९ सय ८५ पुगिसकेको छ । न्युरोड र महावौद्ध क्षेत्रका केही व्यवसायीमा भाइरस देखिएपछि जिल्ला प्रशासन कार्यालयले व्यवसाय बन्द गर्न भनेको छ । जोखिम बढेपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन सेवाग्राहीका लागि नागरिकता, राहदानी लगायत सेवा बन्द गर्ने निर्णय गरेको छ । 

नेपाल प्रहरीको मुख्यालयमै ९० जना सुरक्षाकर्मी संक्रमित भइसकेका छन् । ९ जना ट्राफिक प्रहरीमा संक्रमण देखिएपछि ट्राफिक प्रहरी महाशाखा नै सिल गरिएको अवस्था छ । सिंहदरबारभित्रै काम गर्ने एक उच्च अधिकृतमा पनि संक्रमण देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ र सर्वोच्च अदालतका १ कर्मचारीमा भाइरस देखिएपछि भिडभाड रोक्नुपर्ने आवश्यकता झनै बढेको छ । तर सरकारी कार्यालयमै जोखिमलाई ख्याल गरी 

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएको छैन । 

जोखिम बढेपछि काठमाडौं उपत्यका प्रवेशमा कडाइ त गरिएको छ, तर सार्वजनिक यातायात चलिरहेका छन् । बजारमा पनि भिडभाड छ । जनघनत्व धेरै भएको उपत्यकामा सानो कमजोरीले संक्रमण भुसको आगो झैं फैलिनसक्ने सम्भावनालाई बेलैमा ख्याल नगरे महामारी रोकथाम चुनौतीपूर्ण हुनेमा दुईमत छैन ।