तुइनमा आमा गुमाएका नाबालिकाको मर्मले औंल्यायो- सरकारको झुट

श्रावण २३, २०७७

सबैजसो क्षेत्रमा तुइन विस्थापित गरिसकिएको सरकारी दाबी छ । तर, तुइनमा तर्नु परेकै कारण हुने घटना रोकिएका छैनन् । जसले सरकारी दाबीलाई झुटा सावित त गर्छ नै ग्रामीण जीवनको बाध्यता र जोखिम नफेरिएको देखाउँछ ।

जनै पूर्णिमाको दिन विहानै जलदेवी मन्दिरबाट पूजा गरेर फर्किने क्रममा तुइन छिनिदाँ लमजुङको दोर्दी गाउापालिका सिमीगाउाकी फूलमाया गुरुङ  नदीमा बेपत्ता भइन् । ३२ वर्षिया फूलमायाको खोजी जारी रहेपनि अझै केही फेला पार्न सकिएको छैन । उनकै सहारामा रहेकी १३, ११ र आठ वर्षिया तीन छोरी बेसहारा बनेकी छिन् । विदेशमा रहेका फूलमायाका श्रीमानले परिवारलाई नहेर्ने भएकोले तीन नाबलिकालाई के खुवाउने र कहाँ राख्ने भन्ने चिन्तामा छिमेकी छन् । दोर्दी गाउँपालीका वडा नम्बर ६ कर्तेबेसीबाट वडा नम्बर ७ जाने यो तुइनको बिकल्प छैन । दोर्दी खोलामा मात्र २ वटा तुइन छन् । सरकाले तुइन हटाउने अभियान सुरु गरे यता यस जिल्लामा ९ वटा तुइन विस्थापित  भए । तर, सरकारको रटान अनुसार सबै तुइन हटिसकेका छैनन् भने नागरिकले जोखिमपूर्ण नदी वारपारबाट मुक्ति पाएका छैनन् ।