सहरबजारका डेरा रित्तिँदै

श्रावण २०, २०७७

ललितपुरको झम्सिखेलस्थित एक घरको फ्ल्याट हो यो । पाँच कोठासहितको फ्ल्याट खाली भएको १५ दिन भयो । घरधनीले डेरावाललाई भाडा करिब आधा घटाइदिए । तर डेरावालले बस्न मानेनन् । महामारीले व्यापार व्यवसाय चौपट भएकाले खर्च धान्न नसक्ने भन्दै डेरावाल फ्ल्याट छाडेर अहिले गल्लीभित्रका दुई कोठामा खुम्चिएका छन् । झम्सिखेलमै फर्निचर सुविधासहितको यो फ्ल्याट एक महिनादेखि खाली छ । लकडाउनअघि डेरावालसँग मासिक ३५ हजार लिने घरधनीले भाडा पाँच हजार घटाएका छन् । तर डेरावाल पाउन सकेका छैनन् । महामारीका कारण खासगरी पर्यटकीय क्षेत्र ठमेलका अधिकांश सटर खाली भइसकेका छन् । बागबजार क्षेत्रका घरधनीले यसअघि मासिक ३० हजार रुपैयाँ लिने गरेका फ्ल्याट अहिले १८ हजारमा पनि भाडामा लगाउन सकेका छैनन् । सहरका अन्य क्षेत्रमा पनि अहिले सटर, कोठा र फ्ल्याट खाली भएका सूचना जताजतै देख्न सकिन्छ । चैत ११ देखिको लकडाउन सरकारले साउन ७ देखि हटाए पनि व्यापार व्यवसाय सामान्य भइसकेको छैन । असंगठित क्षेत्रका श्रमिक गाउँबाट फर्किइसकेका छैनन् । पर्यटन, शिक्षण संस्था लगायत निजी क्षेत्रका श्रमिकले तलब नपाएको चार महिना भइसकेको छ । व्यापार व्यवसाय गर्नेहरुले पनि कमाइ नभएकाले धमाधम फ्ल्याट छोडिरहेका छन् । त्यसकै असर अहिले कोठा र फ्ल्याट खोज्ने डेरावालभन्दा भाडामा लगाइदिनुपर्‍यो भन्ने घरधनी बढेका छन् । घर बहालमा छाएको मन्दीले कम भाडामै राम्रो सुविधा भएका फ्ल्याट पाइन थालेका छन् । कतिपय घरधनीले डेरावाललाई फकाउन सुविधा थपेका छन् ।