राजनीतिक पहुँचको आडमा एउटै व्यक्तिलाई निरन्तर अवसर

श्रावण २०, २०७७

मन्त्रिपरिषदले सोमबार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्‍यो । २ वर्षअघि राष्ट्रिय योजना आयोगको सदस्य भएका उनले आयोगमा ढुक्कसाथ काम गर्ने अवसर थियो । तर आयोगको भौतिक पूर्वाधार हेर्ने सदस्यको जिम्मेवारी लगानी बोर्ड जाने भर्‍याङ बनाए । यसअघि लगानी बोर्डकै सीइअो महाप्रसाद अधिकारीले पनि पूरा अवधि काम नगरी चैत २४ मा नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति लिएका थिए । एउटा जिम्मेवारीमा छँदै पहुँचका आधारमा अरू शक्तिशाली पद हात पार्नेको सूचीमा अर्थमन्त्री युवराज खतिवडाको पनि नाम आउँछ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेकै बखत २०६६ चैतमा उनले गर्भनर पद हात पारेका थिए । उनका उत्तराधिकारी चिरञ्जीवी नेपाल पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाकार पदलाई गभर्नरको पद हात पार्ने मौकाका रुपमा उपयोग गरे । २०७३ मा योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले पनि देशका लागि आवश्यक योजना तर्जुमा गर्न छाडेर ठूलो बजेट परिचालन गर्न सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा हाम फालेका थिए । यस्तै सचिवबाट अवकाश लगत्तै राजनीतिक पहुँच प्रयोग गरी स्टाफ कलेजमा नियुक्ति लिएका युवराज भुसाल त्यहाँ कार्यकाल नसकिंदै पुनर्निर्माण प्राधिकरणमा पुगेका थिए । पहुँच प्रयोग गरेर एउटा निकायमा नियुक्ति लिने र त्यसलाई अर्को शक्तिशाली पद हत्याउन प्रयोग गर्ने प्रवृत्ति विकृतिकै रुपमा मौलाएको छ । भारतका लागि राजदूत छँदै कांग्रेस नेता दीपकुमार उपाध्याय बीचैमा राजीनामा दिएर सांसदको चुनाव लड्न आइपुगेका थिए । २०६९ मा नेपाल बार एसोसिएसनमा अध्यक्ष भएका हरिकृष्ण कार्कीले कार्यकाल बाँकी छँदै २०७२ मा महान्याधिवक्ता पद हात पारे । त्यही पदको आडमा उनी अर्को वर्ष सर्वोच्च अदालतको न्यायाधीश बने । यो विकृतिले एकातिर क्षमता र योग्यता भएकाभन्दा सत्तारुढ नेताको वरिपरि घुम्नेले मात्र अवसर पाइरहेका छन् भने अर्कातिर यस्ता नियुक्तिले ती निकाय नै कमजोर र प्रभावहीन भइरहेका छन् ।  राजनीतिक नियुक्ति पाउने पदाधिकारीले पदलाई अर्को पद प्राप्तिको भर्याङ बनाएपछि यो रोग प्रशासनिक संयन्त्रमा पनि सरेकेको छ । मुख्य सचिव छँदै सोमलाल सुवेदी एसियाली विकास बैंकको वैकल्पिक निर्देशकका रुपमा जागिर खान जानु, सचिवको कार्यकाल नसकिंदै दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त हुनु केही उदाहरण हुन् । केही न्यायपरिषद सदस्यले पनि सर्वोच्चको न्यायाधीश बन्न अनेक खेलखण्ड गरेको पाइन्छ । सुरूमा एउटा पद पाउन मरिहत्ते गर्ने, त्यो जिम्मेवारी पूरा नगरी अर्को पदका लागि मोलमोलाइ र खेलकुद गर्ने प्रवृत्तिलाई प्रश्रय दिने भने नेताहरु नै हुन् ।