नयाँ शैक्षिक सत्र कहिलेबाट भन्नेमै अन्योल

श्रावण २०, २०७७

कोरोना महामारीका कारण शैक्षिक सत्र कहिले सुरु हुन्छ भन्ने अन्योल देखिएको छ । केही दिनयता संक्रमण दर बढिरहेकाले एकातिर भदौ १ देखि भर्ना गर्न दिने निर्णय कार्यान्वयन गर्न चुनौती छ भने अर्कातिर शिक्षा मन्त्रालयले शैक्षिक पात्रोबारे निर्णय नै गर्न सकेको छैन । महामारी समुदायस्तरमै फैलिन थालेकाले शैक्षिक संस्था कहिलेबाट सञ्चालन हुन्छन् भन्न सकिने अवस्था छैन । सरकारले भदौ १ देखि भर्ना प्रक्रिया थाल्न दिने त भनेको छ, तर त्यसका लागि ढुक्कको वातावरण छैन । वैशाखमा सुरु हुनुपर्ने शैक्षिक सत्र साउन बित्न लाग्दा पनि अन्योल कायमै छ । सामान्य अवस्थामा एक वर्षमा गरिने पठनपाठन यो वर्ष बाँकी समयमा पूरा गर्न सम्भव पनि छैन । यो अवस्थामा शैक्षिक सत्र कहिले सुरु गर्ने र पठनपाठन कसरी अगाडि बढाउने भन्नेबारे शिक्षा मन्त्रालयले कुनै तयारी नै गरेको देखिंदैन । सामान्य अवस्थामा एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्छ र १ सय ८० दिन पढाउनैपर्छ । यसपालि त्यो सम्भव देखिंदैन । मन्त्रालय भने वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन भइरहेको ठानेर ढुक्कसँग बसेको छ । जबकि त्यसमा ३० प्रतिशत विद्यार्थीको पनि पहुँच छैन । मन्त्रालयले सिकाइ प्रभावकारी बनाउनेभन्दा बजेट सक्ने मेलो मात्र भइरहेको छ । निजी विद्यालयले पनि नाम मात्रको अनलाइन अध्यापन गरिरहेका छन् । हिउँदे र सार्वजनिक विदा कटौतीदेखि माथिल्लो कक्षाका लागि नभइ नहुने पाठ मात्र पढाउने विकल्पमा जानुपर्ने हुन सक्छ । महामारीका बेला विद्यालयमा पठनपाठन सम्भव छैन । तर संक्रमण दर घटेपछि कसरी अगाडि बढ्ने भन्ने ठोस योजना भने आवश्यक छ ।