महामारीले प्रभावित गाईजात्रा

श्रावण २०, २०७७

भदौ कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व आज देशभर मनाइँदै छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित विशेष गरी नेवार समुदाय बसोबास गर्ने क्षेत्रमा मनाइने गाइजात्रा सांस्कृतिक पर्वका साथै समाजमा व्याप्त विकृति विसंगतिमाथि व्यंग्य प्रहार गर्ने पर्वको रुपमा समेत परिचित छ । तर विश्व नै महामारीले आक्रान्त बनाएको अवस्थामा गाईजात्राको सांस्कृतिक एवं कलात्मक दुवै पक्ष प्रभावित भएको छ । वर्षभरि मृत्यु भएका आफन्तको आत्माको मुक्तिको कामना गर्दै परिवारले शोक प्रकट गर्ने गाईजात्रा पर्व पनि यसपाली कोरोनाको कहरले अछुतो रहेन । यसै पनि यस वर्षका अधिकांश चाड अघिल्ला वर्षजस्तो हर्षोल्लासपूर्ण मनाइएन । अझ सामूहिक भेला भएर मनाइने फागु, विस्काM जात्रा लगायतका चाड नै मनाइएन । मृत आत्माको चीर शान्तिको कामना गर्दै निकालिने गाईजात्रामा समेत पहिलेपहिले जस्तै परिवारका सबै आफन्त जम्मा भएर जात्रा निकाल्न संक्रमणको डर त छँदै छ, त्यसमाथि स्थानीय प्रशासनले रोक लगाएकाले रौनक नहुने भएको हो । काठमाडौं र पाटनमा सामान्य ढंगबाट निकालिने भए पनि गाईजात्राको मुख्य आकर्षण रहेको भक्तपुरमा नगरपालिकाले  घिन्ताङ घिसि नाच, लाखे, बाजा तथा धेरै मानिस जम्मा गर्ने कुनै गतिविधि नगर्न भनेको छ । गाईजात्राको अर्को महत्वपूर्ण आकर्षण भनेको शालीन हास्यव्यंग्य हो । योबेला हास्यकलाकारहरुको व्यस्तताका साथै सभागृह, नाचघर लगायतका स्थानमा व्यंग्य पारखी दर्शकले खचाखच भरिने गर्थ्यो । यस वर्ष हास्यव्यंग्य कलाकारका प्रस्तुति पनि डिजिटल माध्यममै सीमित भएका छन्  । ८ दिनसम्म चल्ने सांस्कृतिक गतिविधि र साप्ताहव्यापी चल्ने कलाकारका व्यंग्यात्मक प्रस्तुति दुवैको रौनक कम हुँदा यो वर्षको गाईजात्रा औपचारिकतामै सीमित हुने भएको छ ।