नेकपाका अध्यक्षद्वयको वार्ता र अडानमै सीमित, नेपाल पक्षधर भन्छन् - पार्टी विधानसम्मत चल्नुपर्छ

श्रावण २०, २०७७

प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष  केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्रको विवादका कारण  टुटेको संवादले आज पनि निरन्तरता पाएको छ । अध्यक्षद्वयबीच दुई दिनदेखि जारी संवाद समाधानउन्मुख भनिए पनि निकास कुन ढाँचामा विवाद मिलाइँदै छ भनेर दुवै पक्षले बताएका छैनन् । बरू दाहाल खेमामै रहेर ओलीप्रति असन्तुष्ट राखिरहेका माधव नेपाल पक्षधरले भने बालुटावार वार्ताको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।गत मंगलबारको स्थायी समिति बैठकमा ओलीले एकलौटी ढंगबाट स्थगित गरेपछि दुई अध्यक्षबीचको संवाद नै ठप्प भयो । दाहालले एकल निर्णयबाट बालुवाटारमै स्थायी समितिको बैठक बसालेपछि दुई अध्यक्षबीचको संवाद ६ दिन ठप्प भयो । तर आइतबार भने संवादहीनता तोड्दै दुई अध्यक्षले आफूनिकटका नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई साक्षी राखेर तीन घण्टा छलफल गरे । दुवै पक्षले आआफ्नै अडान राखे पनि संवादलाई निरन्तता दिने सहमति गरे । वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरूले २ अध्यक्षले गर्ने वार्ताको कुनै अर्थ नरहेको र ओलीको विस्थापनबिना विवाद मिल्ने सम्भावना पनि नरहेको बताएका छन् । सोमबार फेरि सहमति खोज्न भन्दै वार्ता गर्न दाहाल सवा नौ बजे बालुवाटार प्रवेश गरे । ओली र दाहालबीच बिहानी खाजाको रुपमा तयार पारिएको तातो गुलियो जेरी खाएर सवा घण्टा बिताए । तर जेरीको गुलियोमा तिक्तता नमिसाउँ भन्दै विवादका विषयमा प्रवेश नै नगरेको छलफलमा सहभागी नेताको भनाइ छ । स्रोतअनुसार, ओली आन्तरिक विवादको समाधान दुई अध्यक्षले दिनुपर्ने र त्यसलाई सचिवालयबाट टुंग्याउनुपर्ने पक्षमा छन् । तर दाहालले स्थायी समिति बैठक जारी रहेकाले त्यहीँबाट निकास खोज्नुपर्ने अडान राखेका छन् । छलफललगत्तै दाहालसँगै बालुवाटारबाट बाहिरिएका प्रधानमन्त्री ओली सिधै बालकोटस्थित घरमा गएका थिए । त्यहाँ उनको आफ्नै राजनीतिक जीवनमा अाधारित संग्राहलयको अवलोकन गरे । र, अवलोकनसँगै ओलीले आफूनिकटका नेता र भक्तपुरका सुरक्षा अधिकारीहरुसँग पनि भेटघाट गरे । निकट नेताहरुको छलफलमा उनले सोमबार बिहानको छलफलबाट विवाद मिलाउन सफल नभए पनि मंगलबार फेरि बसेर टुंग्याउने बताए । तर कुन ढाँचामा समाधान खोजिँदै छ भनेर दुवै पक्षले केही बताएका छैनन् ।