भद्रगोल आईसोलेसन, संक्रमितलाई बस्नै सकस

श्रावण १९, २०७७

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको कोभिड १९ अस्पतालको आइशोलेशन वार्डका संक्रमितको बसाइ कस्टकर छ । संक्रमितको संख्या बढ्न थालेपछि अस्पताल हाताभित्रै रहेको आईशोलेसनलाई साइकृष्णा मेडिकल कलेजको जीर्ण भवनमा सारियो । बस्नै मुस्किल यस भवनमा ७५ लाख खर्चेर मर्मत सम्भार गर्दै १ सय ७८ बेडको आईशोलेसन बनाइएको छ । तर,यहाँभित्रको भद्रगोल व्यवस्थापनले बस्नै सकस भएको संक्रमितले बताएका छन् । राजविराज आईशोलेशनमा आईतवारसम्म १ सय १९ जना संक्रमित छन् । संक्रमितको उपचारसँगै सरसफाई र खानाको जिम्मेवारी पनि अस्पताललाई नै दिईएको छ । जिम्मेवारी बढेको र जनशक्ति कम भएकाले संक्रमितको व्यवस्थापनमा समस्या भएको देखिन्छ ।

यता, अस्पतालले भने सबै संक्रमितको ब्यक्तिगत समस्या समाधान गर्न नसिकने र साझा समस्या समाधानमा कमी नराख्ने जनाएको छ । आईशोलेसन वार्डमा देखिएको समस्या समाधानमा सप्तरीका कुनै पनि स्थानीय तहको ध्यान गएको छैन । कोराना नियन्त्रण तथा उपचारमा सप्तरीमा मात्रै तीन करोडभन्दा बढी खर्च भइसकेको छ । तर, संक्रमितको खानपिन र व्यवस्थापनमै देखिएको लापरवाहीले महामारी नियनत्रणमा जटिलता थपेको   छ ।