सेयरबाट लगानीकर्ताले एक वर्षमा १ खर्ब ३५ अर्ब कमाए

श्रावण १२, २०७७

सेयरबजार मापन गर्ने नेप्से परिसूचक एक वर्षमा २ सयभन्दा बढि अंकले बढ्यो । परिसूचक बढ्दा लगानीकर्ताले १ खर्ब ३५ अर्ब रुपैयाँ कमाएका छन् । 

चैत ११ को लकडाउनपछि असार १४ सम्म सेयर बजार २ दिन मात्रै खुल्यो । ती दुवै दिन बजारमा गिरावट आयो । बजार लकडाउन खुकुलो पारेको दुई सातापछि असार १५ बाट खुल्यो । त्यो दिन पनि परिसूचक १३ अंकले घट्यो । तर त्यसपछिका अधिकांश दिन भने बजार बढ्यो ।

समग्रमा पछिल्लो एक वर्षमा बजार मापन गर्ने परिसूचक २ सय ६ अंकले बढ्यो । २०७६ असार मसान्तमा १२ सय ५९ अंकमा रहेको परिसूचक आइतबार १४ सय ६५ अंकमा छ । परिसूचक बढ्दा त्यसको फाइदा लगानीकर्ताले पाएका छन् । उनीहरुको सम्पति १ खर्ब ३५ अर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार २०७६ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड २६ लाख थियो । त्यसयता बढेर आइतबारसम्म बजार पुाजीकरण १९ खर्ब २८ अर्ब पुगेको छ । 

 

अहिले १६ लाख ९० हजार सेयर लगानीकर्ता छन् । तीमध्ये १ लाख ८१ हजार ५ सय ५८ लगानीकर्ता एक वर्षमा थपिएका हुन्  । लगानीकर्ताको संख्या धेरै भएपनि दोस्रो बजारमा क्रियाशिल लगानीकर्ताको संख्या भने निकै न्युन छ । नेप्सेका अनुसार गत आर्थिक वर्ष ७३ हजार ३ सय लगानैकर्ताले मात्रै सक्रियरुपमा  कारोबार गरे । नेप्से परिसूचक ४ वर्षअघि १८ सय ८१ अंकमा पुगेको थियो । त्यो बेला लगानी गरेकाहरु अझै घाटामा रहेपनि यो वर्ष बजारमा प्रवेश गरेकाहरुले भने मनग्य कमाएका छन् । 

राष्ट्र बैंकको मौद्रिक नीतिपछि सेयर बजार बढ्दो क्रममा छ । तर बजार सधैं बढ्छ भन्ने हुँदैन । सरकारका नीति र राजनीतिक अवस्थाका साथै कम्पनीको नाफा घाटाका आधारमा मूल्य घटबढ हुन्छ । त्यसैले लहडमा भन्दा सबै वस्तुस्थिति विश्लेषण गरेर लगानी गरे लगानीकर्ताले बजारबाट अझै कमाउन सक्नेछन् ।