हुलाकी राजमार्ग निर्माणमा पनि असारे विकासको रोग

असार २३, २०७७

सप्तरीमा पूर्वतर्फ कञ्चनपुरदेखि राजविराजहुँदै पश्चिममा बलानसम्म ४७ किलोमिटर हुलाकी सडक मार्ग हो । यसबाहेक १२ किलोमिटरको कुनौली राजविराज र १८ किलोमिटरको कठौना पातो सडक पनि हुलाकीकै सहायक सडक हुन् । यी सबै सडकलाई निर्माण गर्ने गरी लक्ष्यअनुसार सरकारले अर्बौ रुपैयाँको लगानीमा हुलाकी राजमार्ग आयोजना मार्फत काम गराइरहँदा पनि आवश्यक बजेट उपलब्ध नहुनु र ठेकेदारको लापरबाहीले निर्माण काममा ढिलाई भइरहेको छ ।  

चालू आर्थिक वर्षमा लकडाउनले केही दिन निर्माणको  काममा असहज भएपनि जुनसुकै योजना असारमै सक्ने परिपाटीका कारण वर्खामा झारा टार्ने  काम भइरहेको छ । 

मुख्य हुलाकी सडकखण्डतर्फ सप्तरीमा २१ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म २ वटा मात्र पूरा भएका छन् । वर्षौदेखि १७ वटा पुल निर्माणधिन अवस्थामा छन् भन्ने २ वटा त अझ डिजाईनमै सिमित छ । गएको वर्षको बाढीले भत्काएको पुल पुन यसवर्ष ढलान गरिएको छ । 

तर पुल निर्माणको काम पाएका ठेकेदारले विभिन्न बहाना देखाउँदै समयमा काम पूरा नगर्ने बानी नै बनाईसकेको स्वयं प्राविधिक स्वीकार्छन्  । हुलाकी योजना कार्यालय इटहरीले गुणस्तरीय काम गराउन आफुहरुले वर्खामा सडक कालोपत्रे नगर्न निर्देशन दिएको दाबी गरेको छ । 

सडक निर्माण भईरहेको स्थलमा प्राविधिक नै पुग्दैनन् यस्तो अवस्थामा कसरी गुणस्तरीय काम हुन्छ । योजनाको काम ठेकेदारकै मनमोजीअनुसार हुने र प्राविधिकले पनि  ठेकेदारकै कुरालाई सही भन्ने परिपाटीका कारण बनेका सडक र पुल निर्माणका योजना दीगो हुन नसकेका  हुन्  ।